मलंगवा, साउन १० – सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा पिउनका लागि ल्याइएको मिनरल वाटरमा सेतो लेदो भेटिएको छ ।
कार्यालयमा मंगलबार दिउँसो प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमलगायतको उपस्थितिमा बैठक बसिरहँदा पिउनका लागि ल्याइएको जोया वाटर इष्ड्रष्टिज बालमन्दिर मलङ्गवा –९ ले उत्पादन गरेको मिनरल वाटरको बोतलभित्र दहीको छोक्राजस्तै देखिने सेतो लेदो भेटिएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।
एउटा बोतलको पानीमा सेतो लेदो र अर्को बोतलको पानी कालो रङ्गकोे देखिएपछि तत्कालै पानीको गुणस्तर परीक्षणका लागि पठाइसकिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद अधिकारीले उज्यालो अभियानलाई जानकारी दिए ।
फोहोर भेटिएको दुईवटा पानीको बोतलमध्ये एउटा पानीको बोतल ‘शिल’ समेत नतोडी गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मलंगवामा पठाइएको र अर्को बोतल कार्यालयमै राखिएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । सहायक सीडीओ अधिकारीका अनुसार पानी उत्पादन गर्ने कम्पनिका सञ्चालक नुर आलमलाई जिल्ला प्रशासन कार्यालयमै बोलाइ उहाँकै रोहबरमा बोतलको पानी ल्याब परीक्षणका लागि पठाइएको हो ।
अधिकारीले पानीको के कसरी उत्पादन भइरहेको छ ? र सो कम्पनिले उत्पादन गरिरहेको पानी तत्काल बिक्रीका लागि बजार पठाउन दिने नदिने ? भन्नेबारे सम्वन्धित निकायहरुसँग समन्वय भइरहेको बताएका छन् ।