मलंगवा – सर्लाहीको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १७ लाख बढी रकमसहित एक युवक पक्राउ परेका छन् ।
बागमती नगरपालिका–१० बस्ने २३ वर्षीय सुमन विक स्रोत खुल्न नसकेको १७ लाख ८२ हजार ५०० सय नेपाली रुपैयाँसहित नेपाल–भारत बोर्डर इलाकामा पर्ने विष्णु गाउँपालिका १ बाराउद्योरणबाट पक्राउ परेका हुन् । विकलाई बुधबार राती साँढे ११ बजेतिर प्रदेश ०२–००६ प ३४५१ नम्वरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) बाराउद्योरणबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले विकको साथबाट ५ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन र ३ थान मोवाइल सेट समेत बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि मोटरसाइकल र लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय मलंगवामा तथा बरामद रकम मलंगवा भन्सार कार्यालयमा बुझाइएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भरत खनियाँले जानकारी दिए ।