logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

राजनीतिक किचलोले गाउँसभा हुन सकेन


  • उज्यालो अभियान

विष्णु – राजनीतिक सहमती जुट्न नसक्दा सर्लाहीको विष्णु गाउँपालिकाले अझै गाउँसभा गर्न सकेको छैन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्रै आ–आफ्नो गाउँ तथा नगरसभामा नीति, कार्यक्रम र बजेट ल्याइसक्नु पर्ने हुन्छ । तर, जिल्लाको दक्षिणी भेगस्थित भारतसँग सीमा टाँसिएको विष्णु गाउँपालिकाले भने असार सक्किनै लाग्दा पनि गाउँसभा गर्न सकेको छैन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले गाउँसभाको मिति तय भइनसकेको जानकारी दिए । “ऐन अनुसार असारभित्रै बजेट ल्याइसक्नु पर्ने त हो तर कानून अनुसार पालिका आफै स्वायत्त सरकार हो, त्यसैले असारमै बजेट ल्याउनुपर्छ भन्ने छैन्,” प्रशासकीय अधिकृत सापकोटाले उज्यालो अभियानसँग भने, “बजेट पारित नहुञ्जेल खर्च भने गर्न पाइँदैन् ।”

गाउँपालिकाको कार्यपालिकामा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बहुमत छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसको भएपनि कार्यपालिकामा कांग्रेसलाई बहुमत पुग्दैन् ।

आठ वडामध्ये जसपाले तीन, कांग्रेसले तीन तथा लोसपा र माओवादी केन्द्रले एक÷एक वटा वडामा चुनाव जितेका छन् । लोसपाबाट निर्वाचित विष्णु गाउँपालिका–१, का वडाध्यक्ष बिकाउ ठाकुर हजामले गाउँपालिका अध्यक्ष जवाहारलाल यादवले आफूलाई सर्बैसर्वा ठान्दा गाउँसभा हुन नसकेको आरोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष यादवले वडाध्यक्षको अधिकार समेत खोस्न खोजेपछि गाउँसभा गर्ने विषयमा सहमती जुट्न नसकेको हजामको भनाई छ । उनले आफूलाई नै सबैथोक ठान्नुहुन्छ, यस्तो अवस्थामा कसरी सहमती हुन्छ ? हामी पनि त जनताबाटै चुनिएर आएका हौँ, हामीले हाम्रो अधिकारीको भोग गर्न पाउनुप¥यो नी ! ”वडाध्यक्ष हजामले भने ।

विष्णु गाउँपालिकाबाहेक सर्लाहीका अन्य १९ वटा पालिकाले भने गाउँ तथा नगरसभा सम्पन्न गरिसकेका छन् । केही दिनअघिसम्म असारभित्रै गाउँसभा गर्ने दावी गरेका गाउँपालिका अध्यक्ष जवाहारलाल यादवले साउन पहिलो सातातिर गाउँसभा गर्ने तयारी भइरहेको बताए ।
उनले पुराना योजनाहरु सम्पन्न गर्न ब्यस्त भएकाले असारमन गाउँसभा गर्न संम्भव नभएको बताए । “चुनावले गरेर रोकिएका पुराना योजना पूरा गर्नुपर्ने र निर्वाचित जनप्रतिनिधिबीच सहमती जुटाउनु परेकाले गाउँसभा हुन नसकेको हो,” गाउँपालिका अध्यक्ष यादवले उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँग कुरा गर्दै भने, “सहमती जुटाएर अब चाँडै हुन्छ, सम्भवत : साउन ६/७ गतेदेखि गाउँसभा हुन्छ ।”

अध्यक्ष यादवले गाउँसभाका लागि सहमती जुटाउन अन्य पार्टीका वडाध्यक्ष र कार्यपालिका सदस्यसँग विभिन्न चरणमा अनौपचारिक छलफल गरेपनि कुनै सहमती जुटेको छैन् । विशेष गरी वडालाई छुट्याइने बजेटका विषयमा कुरा मिल्न सकेको छैन् ।

गाउँपालिका अध्यक्ष यादव र अघिल्लो कार्यकालका वडाध्यक्षहरुबीच पनि टसल रहँदै आएको थियो । यादवले अघिल्लो कार्यकालको पाँच वर्ष अल्पमतमै रहेर काम गरेका थिए ।