नवलपुर – छिनछिनमै बिजुली बत्ती काटिँदा हैरान भएपछि सर्लाहीको नवलपुरका स्थानीयले बिहीबार विद्युत प्राधिकरणमै पुगेर ध्यानाकर्षण गराएका छन् ।
चर्को गर्मी भइरहेका बेला केही दिनदेखि विद्युत अनियमित हुँदा पूरै सर्लाहीवासी हैरान भएका छन् । लालबन्दी १ र २ नवलपुरका स्थानीयवासी, व्यापारी, युवालगायतले यसबारेमा प्राधिकरणको लालबन्दी वितरण केन्द्र र नवलपुर सवस्टेशनमा डेलिगेसन गएर ध्यानाकर्षण गराएका हुन् ।

लामो समयसम्म बत्ती कटौति भइरहने समस्याले अत्यधिक गर्मी भइरहेको समयमा पंखालगायत अन्य विद्युतीय उपकरण चलाउन समस्या भइरहेको र बिजुलीबाट हुने अन्य काम प्रभावित भएपछि ३०÷४० जना प्राधिकरणमै पुगेर ध्यानाकर्षण गराइएको नवलपुर बजारका व्यवसायी दीपक श्रेष्ठले उज्यालो अभियानसँग बताए । आफूहरुसँगको भेटमा लालबन्दी वितरण केन्द्रका प्रमुखले विद्युत नियमित गर्न प्राविधिकहरुलाई फिल्डमा खटाइरहेको बताएका श्रेष्ठले जनाए ।
नवलपुर सवस्टेशनबाटै विद्युत् प्रवाहमा समस्या सिर्जना भएकाले बत्ती नियमित गर्न नसकिएको वितरण केन्द्र प्रमुखले बताएका र आफूहरुले जसरी भएपनि समस्या समाधान गरी जतिसक्दो चाँडो विद्युत नियमित गर्न माग राखेको डेलिगेसनमा गएकाहरुले बताएका छन् ।
केही महिनाअघि नवलपुरमा भर्खरै निर्माण भएको सवस्टेशन उद्घाटन गर्न आउँदा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कूलमान घिसिङले अब सर्लाहीमा बत्ती नकट्ने र भोल्टेजको समस्या समाधान नहुने बताएर गएपनि सो कुराको कार्यान्वयन नै नभएको नवलपुरका स्थानीयको भनाई छ ।
सर्लाहीमा केही दिनदेखि दिनभर टन्टलापूर घाम र राती खपी नसक्नु गर्मी भइरहेको छ । अत्यधिक गर्मी अनि त्यहीँमाथि छिनछिनमै बत्ती गइरहने समस्याले जिल्लावासी आजित भइरहेका छन् ।