logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रोपाइँको बेला खडेरी, रोपिसकेको धान पनि सुक्न थाल्यो


  • उज्यालो अभियान

लालबन्दी – पानी नपर्दा सर्लाहीका किसानले रोपेको धान सुक्न थालेको छ ।

पानी नपरेर दिनभर टन्टलापुर घाम लाग्दा आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रका किसानले लगाएको धान बाली सुक्न थालेको हो । धान खेत पटपट फुटेर धाजा फाटेको किसानले बताएका छन् ।
ानी नपर्दा विशेष गरी पूर्व–पश्चिम राजमार्ग आसपास र चुरेभेगका किसान सबैभन्दा बढी प्रभावित भएका छन् । जिल्लामा चुरेको फेदी र पूर्व–पश्चिम राजमार्ग आसपासको क्षेत्रमा आकाशे पानीकै भरमा रोपाइँ हुने गरेको छ ।

दुई साताअघि दुई दिन झरी पर्दा खुसी हुँदै रोपाइँ गरेका किसान त्यसपछि पानी नपर्दा निराश भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका किसान सीताराम थापाले पानी नपर्दा धान खेतमा धाजा फाटेको जानकारी दिए ।

खोलामा पानीको सतह नै घटेपछि कुलो तथा नहरमा सानो पानी आइरहेको थापाले बताए । “आकाशबाट पानी पर्नै सकेन, कुलोमा आउने सानो पानीमा सबै मारामार गरिरहेका छन्,” थापाले भने, “पानी नै नपरेपछि धाजा फाटेको खेत हेरेर बसिरहेका छौँ ।”

पानी पर्न रोकिएपछि बाँकी किसानले धान रोपाइँ गर्न समेत पाएका छैनन् । पानी नपर्दा रोपाइँ नै रोकिएको हो ।

यो वर्ष सर्लाहीसहित तराई क्षेत्रमा मूल फुट्ने गरी पानी पर्नै नसकेको किसानहरु गुनासो गर्छन् । पप्पसेट चल्ने क्षेत्रका किसानले महँगो मूल्यको इन्धन खर्च गरेर पप्पसेट चलाएर धान रोपाइँ गरिरहेका छन् ।
पर्याप्त वर्षा नभएकै कारण सर्लाहीमा असार सक्किनै लाग्दा भर्खर ४५ प्रतिसतको हाराहारीमा मात्रै धान रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ । रोपाइँ गर्न नपाउँदा कतै धानको ब्याड सुक्न थालिसकेको छ भने कतै छिप्पिएर रोप्नै नहुने हुन थालिसकेको छ ।

कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशावहाले पानी नपर्दा सिँचाई सुविधा नरहेको क्षेत्रमा रोपेको धान सुक्न थालेको र बाँकी रहेका किसानले रोपाइँ गर्न नपाएका बताउनुभयो । “वर्षा साथ नदिँदा किसान प्रभावित भएका छन्, सिँचाईको सुविधा रहेको क्षेत्रमा धमाधम रोपाइँ भएपनि आकाशे वर्षा नै कुर्नुपर्ने ठाउँमा समस्या भएको छ,”कुशवाहाले भने ।

सर्लाही जिल्लाभर ४६ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । जिल्लामा २० वटै पालिकामा धान खेती हुने गरेको छ ।