सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
नवलपुर – सर्लाहीको नवलपुरबाट बिहीबार दिउँसो भारी परिमाणमा लागूऔषधसहित एक जना प्रहरी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह लागूऔषधसहित पक्राउ परेका हुन् । सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

लालबन्दी नगरपालिका १ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित सिंहलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण पोखरेलले उज्यालो अभियानसँग बताए । प्रारम्भिक अनुसन्धानमा सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि आफूले राखेको बोरा लैजान दबाब दिएपछि उखुबारीमा लगेर लुकाएको खुल्न आएको एसपी पोखरेलले बताएका छन् ।

प्रहरीले सिंहको कोठाबाट कोरेक्सको दुईवटा खाली बोतल पनि बरामद भएको छ । वरिष्ठ हवल्दार सिंहलाई अहिले इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
रौतहट घर भएका सिंहको दरबन्दी इलाका प्रहरी कार्यालय बोयाङ भोजपुरको रहेपनि उनी इप्रका नवलपुरमा काजमा कार्यरत थिए । सिंह यहाँबाट रमाना बुझेर भोजपुर जाने तयारीमा थिए ।
प्रहरीले तीनदिन अघिमात्रै नवलपुरबाटै ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको थियो । अहिले भने नवलपुरबाटै प्रहरी नै लागूऔषधसहित पक्राउ परेका हुन् ।