लालबन्दी – अत्यधिक गर्मी भइरहेको समयमा विद्युत् अनियमित हुँदा सर्लाहीवासी हैरान भएका छन् ।
सर्लाहीमा बुधबारदेखि छिनछिनमै बत्ती गइरहने समस्या देखा परिरहेको छ । गर्मीले आकूल–ब्याकूल भएका भएका सर्वसाधारण छिनछिनमै बत्ती जाँदा समस्यामा परेका हुन् । गर्मीले छटपटिएको अवस्थामा विद्युत् अनियमित भइदिँदा थप कष्ट भइरहेको लालबन्दीका स्थानीयवासी एवं होटल व्यवसायी बैकुण्ठ सापकोटाले गुनासो गरे ।
बत्ती गइरहने समस्याले गर्मीमा पंखालगायत अन्य विद्युतीय उपकरण चलाउन नपाएको सर्वसाधारणको गुनासो छ । गर्मीले आजित भएका सर्वसाधारण छिनछिनमै बत्ती गइदिँदा आक्रोशीत बन्न थालेका हरिवन निवासी संचारकर्मी जनार्दन पोखरेलले बताए । पोखरेलका अनुसार हरिवन क्षेत्रमा रातीदेखि नै बत्ती छैन् ।
नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले भने गर्मीमा पंखा, फ्रिजलगायत विद्युतीय उपकरण धेरै नै चल्ने भएकाले लोड थेग्न नसकेर बत्ती गइरहने समस्या आएको जनाएको छ । यही बेला नवलपुर सवस्टेशनको पावर केवलमा बारम्बार खराबी आएकाले बत्ती नियमित गर्न नसकिएको प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिव कुमार साहले जानकारी दिए ।
साहका अनुसार नवलपुर सवस्टेशनमा हिजैदेखि मर्मतको काम चलिरहेको छ ।