logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पानी परेको दिन खुल्दैनन् विद्यालय, भेल आएपछि विद्यालय पुग्न समस्या


  • उज्यालो अभियान

विद्यार्थीलाई खोला तार्दै गरेका नारायण खोलास्थित एक विद्यालयका शिक्षक र स्थानीय ।

नारायण खोला – बुधबार बिहान पानी परेपछि सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलाका आठवटै विद्यालय खुलेनन् ।

चुरेभेगस्थित लालबन्दी नगरपालिकाको वडा नं. १४ मा पर्ने नारायण खोलामा पानी पर्नासाथ कुनै पनि विद्यालयमा पठनपाठन सञ्चालन हुँदैन् । साबिकको सिङ्गो एउटै गाउँ विकास समिति (गाविस) रहेको नारायण खोलामा आठवटा सरकारी विद्यालय रहेका छन् ।

सडक नपुगेको त्यस ठाउँमा विद्यार्थीलाई विद्यालयसम्म आउन खोला तरेर आउनुपर्ने हुन्छ । पानी परेर खोला बाढी आउनासाथ विद्यार्थीलाई विद्यालयसम्म आउन समस्या हुने गरेको जनसेवा प्राथमिक विद्यालय सत्रकठ्ठाका प्रधानाध्यापक उत्तरकुमार गुर्मछानले जानकारी दिए ।

पठनपाठन सञ्चालन भइरहेको समयमा पानी परेर खोलाबाढी आए शिक्षकहरु आफैले बालबालिकाको हात समाएर खोला तार्दिने गरेको गुर्मछानले बताए । “पानी परेपछि यहाँका कुनै पनि विद्यालय खुल्दैनन्, बुधबार बिहान मात्रै पनि पानी परेपछि सबै विद्यालय बन्द भए,” गुर्मछानले भने, “वर्षायामभरी यहाँ पठनपाठन सञ्चालन गर्न निकै गाह्रो हुन्छ ।”

बाढी आएर घरसम्म पुग्ने बाटो नै अवरुद्ध हुने भएकाले नारायण खोलाका केही विद्यालयले मौसम बद्ली भई आकाशमा बादल मडारिन थाल्ने बित्तिकै विद्यार्थीलाई घर पठाउने गरेका छन् । नारायण खोलामा चुरे जनता प्रा.वि. इँटाटार, जनता प्रा.वि. हात्तीसुँडे, जनसेवा प्रा.वि. सत्रकठ्ठा, नमोवुद्ध प्रा.वि. डाईनीशीर, जनता प्रा.वि. डाईनीखोला, जनता प्रा.वि. मगरडिही, जनता प्रा.वि. माईस्थान र आधारभूत विद्यालय सतास गरी आठवटा विद्यालय छन् ।

वडा कार्यालयका अनुसार ती आठवटा विद्यालयमा ५५० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । आधारभूत विद्यालय सतासका शिक्षक लेखनाथ काफ्लेले डाँडापाखामा रहेका बस्तीबाट विद्यार्थीहरु खोला तरेर आउनुपर्ने भएकाले पानी पर्ने बित्तिकै पठनपाठन ठप्प हुने गरेको बताए ।

नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले बाढी आएपछि विद्यार्थी र शिक्षक दुवैलाई विद्यालय पुग्न समस्या हुने गरेको बताए । “विद्यार्थी मात्रै होईन्, पानी परेर बाढी आएपछि लालबन्दीतिरका शिक्षकहरु पनि विद्यालयसम्म आउन सक्नुहुन्न, यो अवस्थामा त विद्यालय बन्द गर्नुको विकल्पै छैन्,” वडाध्यक्ष घिसिङले भने ।

नारायण खोलासहित लालबन्दी नगरपालिकाकै वडा नं. १५ मा रहेका दुईवटा विद्यालय पनि पानी परेपछि बन्द हुने गरेका छन् । सो वडाको चुरेडाँडामा पर्ने आधारभूत विद्यालय शीरकालिञ्जोर र जनता प्राथमिक विद्यालय अर्नेडाँडामा पानी परेपछि शिक्षक र विद्यार्थीलाई खोला तरेर आउन समस्या हुने गरेको वडाध्यक्ष गोरखबहादुर बलले जानकारी दिए ।

यस्तै, ईश्वरपुर नगरपालिकाको वडा नं. १२ मा रहेको सेतीदेवी प्रा.वि. सिस्नेखर्कमा पनि यस्तै समस्या रहेको छ । विद्यालयकी प्रधानाध्यापक सोनी तामाङले पानी परेपछि विद्यालय बन्द गर्ने गरिएको बताए ।
पानी परेर बाढी आउनासाथ शिक्षक र विद्यार्थी कोही पनि विद्यालयसम्म पुग्न नसक्ने तामाङले बताईन् । “पानी परेपछि विद्यालय खोल्दैनौँ, बुधबार हाम्रो विद्यालय पनि बन्द नै भयो,” तामाङले भनिन् “बाढी आएपछि विद्यार्थीलाई १५÷२० भन्दा बढी ठाउँमा खोलाको जङ्घार तर्नुपर्छ, त्यसैले पानी परेर बाढी आउनासाथ कोही विद्यार्थी आउनै सक्दैनन्, हामीलाई पनि विद्यालय पुग्न गाह्रो हुन्छ ।”

सर्लाही र महोत्तरीको सीमा बाँके खोलाको किनारमै पर्ने सो विद्यालयमा महोत्तरीको बर्दिवास नगरपालिका–११, का विद्यार्थी पनि बाँके खोला तरेर पढ्न आउने गरेका छन् । विद्यालयमा ५० जना भन्दा बढी विद्यार्थी भर्ना भएपनि अभिभावकसँग इँटाभट्टामा काम गर्न जाने गरेकाले पानी नपर्दा पनि विद्यालय आउने विद्यार्थीको सङ्ख्या न्यून हुने गरेको प्रधानाध्यापक तामाङले बताईन् ।

त्यस्तै, जिल्लाको हरिवन नगरपालिकाको वडा नं. १ मा पर्ने चुरेभेगका केही गाउँका विद्यार्थी पानी परेर बाढी आएपछि पुल नभएका कारण विद्यालयसम्म आउन पाउँदैनन् । नि.मा.वि. पटौनामा पढ्ने सखुवनी गाउँका र जनजागृति मा.वि. बेतालीमा पढ्ने बिलन्दी, बेलडाँडालगायत गाउँका विद्यार्थी पानी परेको दिन विद्यालयमा अनुपस्थित हुने गरेका हरिवन नगरपालिका–१, का वडाध्यक्ष टमबहादुर घिसिङले बताईन् ।

पानी परेपछि विद्यालय बन्द हुने चुरेभेगमा अहिले बाढी आएर खोलाको बाटो विगारेका कारण यातायातका साधन चलेका छैनन् । अब हिउँद नलागेसम्म चुरेभेगमा खोलाको बगरबाट बस र अन्य यात्रुबाहक सवारी साधन सञ्चालन नहुने स्थानीयवासीले बताएका छन् ।

अत्यन्तै भौगोलिक विकटता र एउटै खोलाको दर्जनौँ जङ्घारमा पुल निर्माण गर्नुपर्ने भएकाले चुरेभेगका ती वस्तीहरुमा सडक पु¥याउन नसकिएको स्थानीय तहहरुले बताएका छन् ।

बिहीबारको गोरखापत्र दैनिकबाट साभार ।