logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

जिसस पदाधिकारीको पहिलो निर्णय : सबै पालिकामा दमकल राख्न पहल गरिने


  • उज्यालो अभियान

जिससका सभापतिसहित पदाधिकारी र कांग्रेसका अन्य नेताहरु । (तस्बीर: उज्यालो अभियान)

मलंगवा – जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले जिल्लाको सबै पालिकाहरुमा दमकलको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ ।

आइतबार पद्भार ग्रहणपछि बसेको पहिलो बैठकले २० वटै पालिकामा दमकल खरिदका लागि पहल गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख कौशलकिशोर सिंहले जानकारी दिए । सर्लाहीमा अहिले हरिवन नगरपालिका र मलङ्गवा नगरपालिकासँग मात्रै दमकल छ ।

जिल्लाम रहेका दुईवटा दमकलमध्ये मलङ्गवा नगरपालिकाको दमकल बिग्रिरहने समस्या छ । जसका कारण हरिवन नगरपालिकासँग रहेको एउटा दमकल आगलागी भएको समयमा जिल्लाभर नै दौडाउनु पर्ने बाध्यता छ ।

सो समस्यालाई मध्यनजर गरी सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी सबै पालिकामा दमकलको व्यवस्था मिलाउन पहल गर्ने निर्णय गरिएको जिसस प्रमुख सिंहले उज्यालो अभियानसँग बताए । आइतबार नै जिससका पदाधिकारीहरुलाई प्रमाण–पत्र वितरण गरी शपथ ग्रहण गराइएको थियो ।

जिल्ला अदालतका मुख्य न्यायाधीश एवं सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाण–पत्र वितरण गर्दै शपथ ग्रहण गराएका हुन् । मुख्य न्यायाधीश पियाले सुरुमा जिसस प्रमुख कौशलकिशोर सिंहलाई शपथ ग्रहण गराए र त्यसपछि प्रमुख सिंहले उपप्रमुख जितेन्द्र कुमार महतो र बाँकी सात जना सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।

जिससको निर्वाचन कार्यक्रम अनुसार आइतबार मतदानको समय छुट्याइएको थियो । तर, गएको शुक्रबार नै प्रमुख, उपप्रमुख र बाँकी सात जना सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए ।

मनोनयनको दिन नेपाली कांग्रेस र माओवादी केन्द्रको गठवन्धनका उम्मेदवारले मात्रै मनोनयनपत्र दर्ता गराएपछि उनीहरु नै निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । जिल्ला समन्वय समिति गठनका लागि सर्लाहीमा नेपाली कांग्रेस एक्लैलाई बहुमत रहेको थियो ।

बहुमत हुँदाहुँदै कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको छ । कांग्रेसले प्रमुखसहित छ जना सदस्य र माओवादी केन्द्रले उपप्रमुखसहित एक जना सदस्य लिएका छन् ।