नवलपुर – महोत्तरीको बर्दिवासमा रहेको यातायात कार्यालयले सर्लाहीका विभिन्न स्थानमा छड्के सडक अनुगमन गरेको छ ।
कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीसँग समन्वय गरी ईश्वरपुर नगरपालिकाको फूलजोर, लालबन्दी नगरपालिकाको जुटपानी, हरिपुर नगरपालिकाको हरिपुर र हरिवन नगरपालिकाको नयाँरोड क्षेत्रमा ३५० वटा सवारी साधनलाई सचेत गराई करिव ७५० वटा सवारी साधनको छड्के सडक अनुगमन गरेको हो । सो क्रममा ३० वटा सवारी साधन सवारी नियम विपरीत संचालन गरिएको पाइएको छ ।
प्रयोजन विपरीत ५, क्षमता भन्दा अधिक भारवहन भएका २, नम्वर प्लेट नराखी संचालन गरिएको १, सिटबेल्टको प्रयोग नगरिएको ५, सवारी चालक अनुमती पत्र नबोकी चलाइएको ८, इजाजत नभएको ७ र लापरवाही पूर्वक चलाइएको ३ वटा सवारीलाई कारवाही गरिएको यातायात कार्यालय बर्दिवासका सूचना अधिकारी दीलिप थापाले जानकारी दिए ।
छड्के सडक अनुगमनमा यातायात कार्यालय बर्दिवासका प्रमुख पोषण थापाले सवारी साधन संचालन सम्वन्धी नियम पालना गरेर मात्रै नियमपूर्वक सवारी साधन चलाउन आग्रह गरेका छन् ।