बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १५ पिप्राभित्तामा दुग्ध संकलन भवन निर्माण गरिएको छ ।
स्थानीय किसानहरुले दुध ल्याएर बिक्री गर्ने श्री भुवनेश्वरी दुग्ध उत्पादक सहकारी संस्थाले एउटा हलसहितको ७ कोठे दुग्ध संकलन भवन निर्माण गरेको हो । तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत ६५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दुग्ध संकलन भवनको शुक्रबार संविधान सभाका सदस्य हरि उप्रेतीले उद्घाटन गरेका हुन् ।
दुग्ध संकलन भवन निर्माण भएपछि स्थानीय पशुपालक किसान खुसी भएका छन् । नवनिर्मित भवनको स्थानीय किसानहरुको समेत उपस्थितिमा संस्थाका अध्यक्ष गोविन्द प्रसाद उप्रेतीको अध्यक्षतामा उद्घाटन गरिएको हो ।
किसानले सो संस्थामा ल्याएर बिक्री गर्ने दुध संस्थाले दुध डेरीहरुलाई बिक्री गर्दै आइरहेको छ । संस्थालाई किसानले सिजनमा ४ हजार लिटर र अफसिजनमा २ हजार लिटर दुध बिक्री गर्दै आइरहेका छन् ।