सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालय । तस्बिर : उज्यालो अभियान
मलंगवा – जिल्ला समन्वय समिति सर्लाहीको निर्वाचन अन्तर्गत आज (शुक्रबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि समय तोकिएको छ । दिउँसो १ बजेदेखि १ः३० बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुने छ । त्यसलगत्तै दिउँसो १ः३० बजेदेखि २ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने मुख्य निर्वाचन अधिकृत पियाले उज्यालो अभियानसँग बताएका छन् ।
त्यस्तै, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म मनोनयनपत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, दिउँसो ३ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, अपरान्ह ४ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने र साँझ ५ बजेदेखि ५ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार बिहीबार पहिलो दिन मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने र मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने प्रक्रिया पूरा गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृत पियाका अनुसार जिल्ला समन्वय समितिका ४० जना मतदातामध्ये कोही कसैविरुद्ध पनि उजुरी परेन् । उजुरी नपरेपछि जिल्लाको २० पालिकाका प्रमुख तथा उपप्रमुखको मतदाताको रुपमा अन्तिम नामावली प्रकाशन भइसकेको छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत भोली (शनिबार) उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । मुख्य दिन पर्सी असार ५ गते भने मतदान हुने छ । त्यस दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने छ ।
निर्वाचनबाट जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित ९ जना सदस्य चयन हुने छन् । समिति गठनका लागि कांग्रेस एक्लैलाई २३ मतसहित बहुमत छ । जिल्लामा कांग्रेसको १२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख रहेका छन् ।
त्यसैगरी, माओवादी केन्द्रसँग ४ पालिकामा प्रमुख र उपप्रमुखसहित ८ मत रहेको छ । जनता समाजवादी पार्टी (जसपा) सँग २ पालिकाका प्रमुख र उप्रमुखसहित ४ मत रहेको छ । नेकपा एमालेसँग एक पालिकाका प्रमुख र दुई पालिका उपप्रमुखसहित ३ मत रहेको छ । सबैभन्दा कम लोकतान्त्रिक समाजवादी पार्टीका एक पालिका प्रमुख र उपप्रमुख गरी २ मत रहेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा लागि सर्लाहीमा कुनै पनि दलले शुक्रबार बिहानसम्म पनि उम्मेदवार टुंग्याएका छैनन् । एकल बहुमत रहेको कांग्रेसभित्र सभापतिको उम्मेदवारलाई लिएर पार्टीको संस्थापन खेमाभित्रै चर्को द्वन्द्व छ । उम्मेदवार टुंग्याउन कांग्रेस नेताहरुबीच अहिले बिहान जनकपुरस्थित प्रदेश पार्टी कार्यालयमा छलफल हुँदै छ ।
जिल्लामा माओवादी, एमाले, जसपा र लोसपाले पनि उम्मेदवार टुंग्याएका छैनन् भने ती दलले गठवन्धन गर्ने, नगर्ने वा कसलाई मतदान गर्ने भन्ने निर्णय गरिसकेका छैनन् ।