फाइल तस्बीर ।
मलंगवा – सर्लाहीमा बुधबारदेखि पुनः मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरिएको छ ।
पहिलो दिन भएकाले बुधबार नामावली दर्ता गराउन पुग्ने सेवाग्राही भने न्यून देखिए । निर्वाचन आयोगबाटै निर्धारित कार्यक्रम अनुसार सदरमुकाम मलंगवास्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालय गरी जिल्लाभर ४ स्थानबाट मतदाता नामावली संकलन गर्न सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले उज्यालो अभियानसँग बताएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि गएको वर्ष माघ २५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम देशैभर स्थगित गरिएको थियो । आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली संकलन र अद्यावधिक कार्यक्रम बुधबारबाट पुनः सञ्चालन गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले स्थानीय तह निर्वाचन घोषणा भएपछि माघ २५ गतेदेखि नागरिकता लिएका तर मतदाता नामावलीका लागि फोटो खिच्न र विवरण भर्नबाट छुटेकाहरुले समेत नामावली दर्ता गराउन सक्ने जानकारी दिए । अन्य कुनै जिल्लाका व्यक्ति सर्लाहीमा बसोवास गरिरहेको र नागरिकता प्राप्त गरेको भए यहीँबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने भुजेलले बताए ।
भुजेलका अनुसार जिल्ला बाहिरका नागरिकको हकमा जिल्ला निर्वाचन कार्यालय मलंगवाबाट मात्रै नामावली दर्ता गर्न सकिने छ । मतदाता नामावली दर्तासँगै विवरणमा रहेको त्रुटी सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन निर्वाचन कार्यालयमा गएर निवेदन दिन सकिने छ ।
सर्लाहीमा गएको वर्ष माघ २४ गतेसम्म चार लाख ७४ हजार ४३९ जनाको मतदाता नामावलीमा नाम दर्ता भएको छ ।