logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा पनि जग्गा कित्ताकाट र धितोबन्धकी रोक्का


  • उज्यालो अभियान

मालपोत कार्यालय हरिवन । (फाईल तस्बिर)

हरिवन – सर्लाहीका तीनवटै मालपोत कार्यालयले जग्गा कित्ताकाट, धितोबन्धकी, दृष्टिवन्धकी र साधारण रोक्का सम्वन्धी सेवा प्रवाह बन्द गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको पत्रानुसार जग्गाको कृषि क्षेत्र र गैह्र कृषि क्षेत्र वर्गीकरण सम्वन्धी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि देशभर झैँ सर्लाहीमा पनि मलंगवा, हरिवन र बरहथवामा रहेका तीनवटै मालपोत कार्यालयले यो सेवा बन्द गरेका हुन् । मालपोत कार्यालय हरिवनका प्रमुख रमेश प्रसाद गौतमले मंगलबारदेखि अर्को व्यवस्था नहुन्जेल सम्मका लागि कित्ताकाट र धितोबन्धकी सेवा रोकिएको उज्यालो अभियानसँग बताए ।

मालपोत कार्यालयले अचानक यि सेवाहरु रोक्दा सेवा लिन पुगेका सेवाग्राहीहरु भने निराश हुँदै घर फर्किएका छन् । मलंगवास्थित मालपोत कार्यालयका प्रमुख पनिलाल यादवले दुई कठ्ठा भन्दा कम जग्गा अर्को निर्णय नहुन्जेलसम्मका लागि कित्ताकाट नगर्न परिपत्र आएको बताएका छन् ।

यादवले सोमबार दिउँसो २ बजे निर्णय फ्याक्स आउनुभन्दा अघि रसिद काटेका सेवाग्राहीको काम भएपनि त्यसपछि भने रोकिएको उज्यालोलाई जानकारी दिए । यसरी धितोबन्धकीसहितका काम रोक्का भएपछि बैंकमा जग्गा वा घर बन्धकी राखेर ऋण लिई व्यवहार टार्ने वर्गका मानिस सबैभन्दा बढी प्रभावित भएका छन् ।