फोटो क्याप्स्न : गत वर्ष असार अन्तिमको वर्षापछि नारायणखोलामा ढलेको बिजुलीको पोल । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – रातीको पानी, चट्याङ र हावाहुरीपछि सर्लाहीमा फेरि विद्युत् अनियमित बनेको छ ।
दुई दिन लगाएर नवलपुर सवस्टेशनको ट्रान्सफर्मर टेष्टिङ तथा मर्मत गरिएपछि बल्ल नियमित बन्न थालेको विद्युत् रातीबाट पुनः अनियमित भएको हो । गएराती सर्लाहीमा केहीबेर चट्याङसहित पानी परेको थियो । चट्याङले जिल्लामा कहीँकतै अप्रिय घटना भएको भन्ने जानकारी नआएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
राती पानी नपरेको ठाउँहरुमा हावाहुरी मात्रै पनि चलेको स्थानीयले बताएका छन् । पानी पर्दा राती जिल्लाभर नै विद्युत् अवरुद्ध भएको थियो । अहिले भने लालबन्दीसहित मुख्य–मुख्य बजार क्षेत्रमा विद्युत् सूचारु भइसकेको छ । तर, जिल्लाको भित्री ग्रामीण बस्तीहरुमा राती देखिनै बत्ती अवरुद्ध रहेको स्थानीयवासीले बताएका छन् ।
सर्लाहीमा सामान्य वर्षा हुनासाथ घण्टौँ विद्युत् अवरुद्ध हुने पुरानै समस्या हो । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले आफूहरु समस्या देखिएको ठाउँमा बिहानैदेखि मर्मत गर्दै हिँडिरहेको उज्यालो अभियानलाई जानकारी दिए । मलंगवा र बरहथवा वितरण केन्द्रले पनि प्राविधिकहरुलाई फिल्डमा खटाइसकिएको जनाएको छ ।
हावाहुरीले कुनै एक ठाउँमा तार चुँडाए वा रुख ढलेर तार तथा पोलमा क्षति पु¥याए, पूरै एरियाको बत्ती काट्नुपर्ने बाध्यताले गर्दा समस्या हुने गरेको प्राधिकरणका प्राविधिकहरु बताउँछन् । दुई÷चार जना प्राविधिकले ठूलो एरियामा खटिएर काम गर्नुपर्दा तुरुन्त मर्मत गर्न नभ्याइने समस्या हुने गरेको वितरण केन्द्रहरुले जनाएका छन् ।