प्रतिकात्मक तस्बिर ।
मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिका–६, सहोडवामा रहेको एक संस्थाले स्वयंसेवक शिक्षक राखेर ठगी गरेको पाइएको छ ।
बसबरियाको दिगो विकासका लागि स्थानीय अग्रसरता केन्द्र नामक संस्थाले गएको वर्ष असोज, कात्तिकमा विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षक राखेको थियो । तर, ती शिक्षकहरुले अहिलेसम्म तलब पाएका छैनन् ।
संस्थाबाट आफूहरु ठगिएको थाहा पाएपछि स्वयंसेवक शिक्षकको रुपमा काम गरेकाहरुले अहिले जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन दिइरहेका छन् । जिल्ला प्रशासन कार्यालयले सुरुमा गुनासो लिएर आउने नौजना शिक्षकलाई संस्थाबाट जनही एक लाख भन्दा बढी तलब उपलब्ध गराएको थियो ।
पछि फेरि थप शिक्षकहरु तलब नपाएको भन्दै कार्यालयमा पुगेपछि ठगीको रहस्य बाहिर आएको हो । कार्यालयले गएको वैशाख १४ गते सूचना नै जारी गर्दै सो संस्थाबाट स्वयंसेवक शिक्षकमा नियुक्त भई कोही÷कसैले काम गरेको भए सम्पर्कमा आउन आग्रह गरेको थियो ।
महिनौँ काम गरेका स्वयंसेवक शिक्षकहरु तलब नपाएपछि मारमा परेका छन् । कविलासी नगरपालिका–४, हेमपुरमा रहेको फकिरा शितलमाई प्राथमिक विद्यालयमा गएको कात्तिकदेखि स्वयंसेवक शिक्षक भई काम गरेकी अन्जली यादवले तलब बापत एक रुपियाँ पनि नपाएको उज्यालो अभियानसँग गुनासो गरिन् ।
ठगिएको थाहा पाएपछि यादवसहितका शिक्षकहरु अहिले सीडीओ कार्यालयको शरणमा पुगिरहेका छन् । स्थानीय अग्रसरता केन्द्र नामक संस्था बसबरियाले कुन आधारमा स्वयंसेवक शिक्षक राखेको थियो भन्ने खुल्न सकेको छैन् ।
सूचना जारी गरेपछि एक सय भन्दा बढी शिक्षकहरु जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा पुगेका छन् । तलब नपाएको भन्दै शिक्षकहरु सम्पर्कमा आएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरी लगाएर दिगो विकासका लागि स्थानीय अग्रसरता केन्द्र नामक संस्थाका अध्यक्ष सरोज अधिकारीको खोजी सुरु गरेको छ ।
अधिकारी अहिले फरार भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले उज्यालोसँगको कुराकानीमा बताए । प्रजिअ गौतमले फरार रहेका अधिकारीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।