logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सडकको बीचमा बिजुलीका खम्बा, नहटाइँदा जोखिम


  • उज्यालो अभियान

बयलवास बजारमा बीचसडकमा रहेको बिजुलीको खम्बा । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको बयलवास बजारमा सडकको बिचमा परेका बिजुलीका खम्बा (पोल) बेलैमा नहटाइँदा जोखिम बढेको छ ।

निर्माणाधीन अवस्थामा रहेको फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत केही महिनाअघि व्यक्तिगत घर र अन्य भौतिक संरचना भत्काएर विस्तार गरिएको बयलवास बजार क्षेत्रमा नाङ्गो तार भएका दर्जनौँ बिजुलीको खम्बाहरु बिच सडकमा परेका छन् । मुख्य बजार क्षेत्रमा सडक बढाउँदा कमजोर भएका बिजुलीका खम्बा आफै ढले वा कुनै सवारी साधनले ठक्कर दिएर ढलेमा गम्भीर किसिमको अप्रिय घटना हुनसक्ने जोखिम रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

सडक निर्माण गरिरहेको टुन्डी आशिष सन्तोषि जेभीका प्रतिनिधि जीवन कँडेलले सुरुमा बिजुलीका खम्बा कस्ले सार्ने भन्ने प्रष्ट नरहेको र अहिले भने आफूहरुलाई नै खम्बा सार्ने रकम समेत प्राप्त भएकाले नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रसँग समन्वय गरी काम गर्ने उज्यालो अभियानसँग बताए । उनले बजार क्षेत्रको सडकमा ‘डिभाइडर’ समेत राख्ने योजना रहेकाले ‘डिभाइडर’ भित्र पर्ने खम्बाहरु भने त्यहीँ रहन दिइने बताएका छन् ।

बयलवास बजारबाहेक फूलजोर–त्रिभुवननगर सडकको बबरगञ्ज, भेल्हीलगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रसँग समन्वय गरी बिजुलीका खम्बा सार्ने काम गरिने ठेकेदारका प्रतिनिधि कँडेलले जानकारी दिए । प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिव कुमार साहले ठेकेदार कम्पनि बिजुलीका खम्बा सार्न लाग्ने खर्च बेहोर्न तयार भएको खण्डमा सो कामका लागि कार्यालयले केन्द्रीय कार्यालयबाट स्वीकृत लिने बताए ।

प्राधिकरणका प्रमुख साहले ‘साइड क्लियर’ नभएसम्म खम्बा सार्ने काम अगाडि नबढ्ने बताएका छन् । बयलवास बजार क्षेत्रका केही खम्बा बीच सडकमा छन् भने अधिकांश खम्बा नाला भन्दा भित्रपट्टी नै रहेका छन् ।

ईश्वरपुर नगरपालिका कार्यालयले सडकमा परेका बिजुलीका खम्बा हटाउन ठेकेदार र प्राधिकरणसँग समन्वय गरिरहेको जनाएको छ । ईश्वरपुरका नगरप्रमुख मनोज कुमार आचार्यले बिहीबार ठेकेदार र प्राधिकरणका प्रतिनिधिलाई कार्यालयमै बोलाएर यस विषयमा छलफल गरेका थिए ।

नगरप्रमुख आचार्यले सडकबाट खम्बा हटाउन समन्वय गरिरहेको दावी गरेका छन् । बयलवास बजार क्षेत्रमा सडक निर्माण र त्यससँग जोडिएका अन्य काम गर्नेक्रममा बारम्बार विवाद सिर्जना भइरहेको छ ।

विवादकै कारण सडक निर्माणको काम निकै सुस्त गतिमा भइरहेको स्थानीयले बताएका छन् । त्यहाँ सडक तथा नाला निर्माणकै विषयमा केही समयअघि झडप हुँदा सर्लाही क्षेत्र नं. १ का सांसद प्रमोद साह घाइते भएका थिए ।

सडक तथा नाला निर्माणको विषयलाई राजनीतिक प्रतिष्ठाको विषय बनाइँदा समस्या भइरहेको छ ।