logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

करेन्ट लागेर ज्यान गुमाएका चौधरीको परिवारलाई मेयर आचार्यले सहयोग गर्ने


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर ज्यान गुमाएका एक मजदुरको परिवारलाई नगरप्रमुख मनोजकुमार आचार्यले सहयोग गर्ने भएका छन् ।

अस्ती बुधबार ईश्वरपुर नगरपालिका–७, मा करेन्ट लागेर मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रा.लि. मा कार्यरत ईश्वरपुर नगरपालिका–९, का ४० वर्षीय मनोज चौधरीको ज्यान गएको थियो । चौधरीको परिवारलाई ईश्वरपुरका नवनिर्वाचित नगरप्रमुख आचार्यले व्यक्तिगत तर्फबाट किरिया खर्चबापत तत्कालै ५१ हजार रुपैयाँ दिने उद्घोष गरेका हुन् ।

त्यस्तै नगरप्रमुख आचार्यले मृतक चौधरीको एक छोरा र एक छोरीलाई निःशुल्क पठनपाठन गराउने र चौधरीको मृत्युपछि परिवारको सहारा नै गुमेकाले एक छोरालाई रोजगारीको प्रवन्ध मिलाउने प्रतिवद्धता जनाएका छन् । लामो समयदेखि सो मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा ‘अलराउण्डर’ भई काम गर्ने चौधरीलाई मोटर बनाउनेक्रममा करेन्ट लागेको थियो ।

चौधरीलाई करेन्ट लागेपछि बचाउन भन्दै गएका अन्य केहीलाई पनि करेन्टको झड्का लागेपनि उनीहरुको अवस्था भने सामान्य छ । मृतक चौधरीको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि हिजो दिउँसो परिवारले बुझिसकेका इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।