कविलासी – सर्लाहीको कविलासी नगरपालिका र ईश्वरपुर नगरपालिकामा बिहीबार मतदानमार्फत कार्यपालिका सदस्य चयन गरिएको छ ।
कविलासीमा ८ जना नगर कार्यपालिका सदस्यमध्ये ६ जना कांग्रेस तथा एक÷एक जना नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) ले जितेका छन् । दलित वा अल्पसंख्यकबाट ३ जना कार्यपालिका सदस्यमा कांग्रेसका विनयकुमार कर्ण, रामनारायण राउत र रामएकवाल महतो चयन भएका छन् ।
५ जना महिला सदस्यमा कांग्रेसबाट रिनाकुमारी, शोभाकुमारी र पानोवती देवी मुखिया तथा एमालेबाट निलम देवी र समाजवादीबाट इन्कुकुमारी महरा निर्वाचित भएको कविलासीस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कविलासीमा मेयर र उपमेयर दुवै नेपाली कांग्रेसका छन् ।
यस्तै, ईश्वरपुर नगरपालिकामा ८ जना कार्यपालिका सदस्यमध्ये कांग्रेसबाट ५ जना, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट २ जना र जनता समाजवादी पार्टी (जसपा) बाट १ जना चयन भएका छन् । दलित वा अल्पसंख्यकबाट कांग्रेसका विजय कुमार साह, लोसपाका रामदयाल पासवान र जसपाका गणेश ठाकुर हजाम चयन भएका छन् ।
ययसैगरी, ५ जना महिला कार्यपालिका सदस्यहरुमा कांग्रेसबाट मिना पूर्वछाने, लिलाकुमारी पनेरु, विना देवी कार्की, विनिता कुमारी चौधरी र लोसपाकी शैलिया देवी कुम्हार चयन भएका छन् । ईश्वरपुरको पनि मेयर र उपमेयर दुवै कांग्रेसकै छन् ।
सर्लाहीमा २० वटा पालिकामध्ये अब बरहथवा नगरपालिकामा मात्रै कार्यपालिकाको निर्वाचन हुन बाँकी छ । बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले शुक्रबार कार्यपालिका सदस्यका उम्मेदवारहरुको मनोनयन दर्ता गरी २३ गते मतदान गराउने तयारी रहेको उज्यालो अभियानलाई जानकारी दिए ।
बरहथवामा अरु स्थानमा भन्दा मतगणना पनि निकै ढिलो सकिएको थियो । त्यहाँ जेठ ८ गते राती मात्रै मतगणना सकिएको थियो ।