पिडारी – सर्लाहीको हरिपुर–९, पिडारीका मुसहर समुदायका महिला, पुरुष र युवाहरुलाई लैङ्गिक रुपान्तरणका लागी सामाजिक मूल्य मान्यता र व्यवहार परिवर्तन बिषयक २ दिने तालिक प्रदान गरिएको छ ।
मुसहर महिला सशक्तिकरण मञ्चको सदस्य, सदस्यको श्रीमान, सासु, ससुरा, देवर, जेठाजु वा दाजु, नन्द, आमाजु गरी ५० जनालाई तालिम दिइएको हो । तालिमको उद्घाटन शत्र मुसहर महिला सशक्तिकरण मञ्चकी अध्यक्ष जयकुमारी देवीको अध्यक्षता तथा हरिपुर ९ पिडारीका नवनिर्वाचित वडा अध्यक्ष विश्वनाथ रायको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रायले माझी मुसहर वालवालिकाको आफू सुचक बसेर भएपनि जन्मदर्ता बनाईदिने र जन्मदर्ता नभएकाहरुलाई बिद्यालय भर्ना गरेर चप्पल, पोशाक, कापी, किताव र दिवा खाजा खुवाउने प्रतिवद्धता जनाएका छन् । तराईका दलित तथा मुसहर समुदाय लैङ्गिक समानता र सामाजिक समावेशीकरणको क्षेत्रमा अझै निकै पछाडि परेका छन ।
उनीहरु जातिय विभेदका कारण उपल्लो जाति भनिएकाहरुबाट र पुरुषप्रधान समाजको कारण र आफ्नै घर परिवारबाट समेत उनीहरुको नेतृत्व क्षमताको कदर भएको पाइँदैन । अशिक्षा, अज्ञानता र चेतनाको कमीले गर्दा विकासको मुलधारमा मुसहर समुदाय आउन सकेका छैनन् ।
दुई दिनको उक्त तालिममा मुसहर समुदायको १५० घरपरिवारका ७५० जनालाई ५ भिन्न समुहमार्फत लैङ्गिक रुपान्तरणका लागी सामाजिक व्यवहार परिवर्तन तथा मूल्य मान्यता सम्बन्धी सत्र संचालन गर्न लागेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए । कार्यक्रममा ओरेक नेपाल सर्लाहीकी देव कुमारी महराले लैङ्गिक समानता, लैङ्गिक शक्ति, सम्बन्ध व्यवहारको बारेमा प्रशिक्षण गर्दै महिला हिंशा, वाल विवाह वारेमा प्रशिक्षण दिएकी थिईन् ।
मुसहर समुदाय गरिवी, अशिक्षा, चेतनाको कमिका कारण हरेक क्षेत्रमा पिछडीएका छन् । वाल विवाह, जाँड रक्सी सेवन, दाईजो प्रथा, जातिय छुवाछुत र विभिन्न सामाजिक मुल्य, मान्यता आदिका कारण आर्थिक, सामाजिक रुपमा कमजोर रहेकोले खराव बानी व्यवहारलाई हटाएर राम्रो कामको सुरुवात गर्न तालिमले सिकाउने प्रशिक्षक पचुलाल माझिले बताए ।
नेपाल मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋिषीले मुसहर महिलाको नेतृत्वको भूमिकालाई परिवर्तन गर्नको लागि घर परिवार भित्रै बाट उनीहरुको नेतृत्वदायी भूमिका प्रवद्र्धन गर्न हस्तक्षेप गर्नुपर्ने बताए । अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप–नेपाल) को आयोजना तथा नेपाल राष्ट्रिय मुसहर संघको सहकार्यमा तालिम संचालन भैरहेको हो ।
सर्लाहीका बरथहवा, हरिपुर, बसबरीया र चन्द्रनगर गाँउपालिका मुसहर महिला सशक्तिकरण मञ्चको १५० घर परिवार सदस्यको श्रीमान,सदस्यका ससुरा, देवर, जेठाजु वा दाजु, नन्द, आमाजु वा सासु गरी ७५० जनालाए तालिम संचालन गरिने छ ।