logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दुई जना डीएसपी


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दुई जना डीएसपी भएका छन् ।

प्रहरी प्रधान कार्यालयले पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण दुहबी, सुनसरीबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवलाई काज सरुवा गरी जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको हो । यादवले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँदा इलाका प्रहरी कार्यालय बरहथवामा इन्चार्ज भई काम गरेका थिए । उनी बुधबार साँझ मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा हाजिर भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा यसअघि देखिनै डीएसपी माधवप्रसाद बुढाथोकी पनि कार्यरत छन् । डीएसपी बुढाथोकी भने अहिले बिदामा छन् ।

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले तत्काल दुवै जना डीएसपीले जिल्ला प्रहरी कार्यालयमै रहेर काम गर्ने उज्यालो अभियानलाई जानकारी दिए । प्रहरी स्रोतका अनुसार अब बढुवा निस्कँदा सर्लाहीका एसपी पोखरेल र डीएसपी बुढाथोकीको पनि बढुवा हुने सम्भावना छ ।

सर्लाहीमा जिल्ला प्रहरी कार्यालयबाहेक इलाका प्रहरी कार्यालय बरहथवामा डीएसपी बस्ने गर्छन् । ‘क’ बर्गको इलाका प्रहरी कार्यालयहरुमध्ये बरहथवामा डीएसपी इन्चार्ज छन् भने लालबन्दी, हरिवन, बयलवास र हरिपुरमा इन्स्पेक्टर इन्चार्ज रहेका छन् ।