logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा १६ जनालाई कुकुरले टोक्यो


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा छाडा कुकुरले टोकेर १६ जना बिरामी परेका छन् ।

बिहीबार शुक्रबार दुई दिनको अन्तरालमा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयले बताएका छन् । वडा नं. ८ मा १० जना र वडा नं. ११ मा ६ जना बिरामी परेका हुन् ।

स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको जानकारी दिए । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको छ ।

काठमाण्डौं रेफर गरिएका दुई जना बालकबाहेक अन्य १४ जना बिरामीहरुले भने नमूना अस्पताल हरिवन र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा पुगेर रेविजविरुद्धको खोप लगाइ औषधोपचार गराएका छन् । मानिस र पशुचौपायलाई जथाभावी टोक्दै हिँडेको कुकुरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर मारिसकेका छन् ।