logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीको बलराबाट १४ लाखको अवैध कपडा बरामद


  • उज्यालो अभियान

मलंगवा – सशस्त्र प्रहरीले सर्लाहीको बलरामा शनिबार ठूलो परिमाणमा भारततर्फबाट ल्याउँदै गरिएको अवैध कपडा बरामद गरेको छ ।

बलरा नगरपालिका–३, मा भारतबाट भन्सार छलेर ल्याइएको १४ लाख २१ हजार १९० रुपैयाँ बराबरको कपडा सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनी बर्दिवास र बोर्डर आउष्ट पोष्ट (बीओपी) छतौनाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । सशस्त्रले भन्सार छलीको कपडा ल्याउन प्रयोग गरिएको बीआर ०१ सी एच ८४७४ र बीआर ०५ ए एच ५६६७ नम्वरको दुईवटा भारतीय मोटरसाइकल समेत बरामद गरेको छ ।

मोटरसाइकलमा हालेर तस्करीको कपडा ल्याउने मानिसहरु भने फरार भएका छन् । बरामद गरिएको कपडा र भारतीय मोटरसाइकल आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।