बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार आचार्यले नगरपन्रमुखलाई प्राप्त हुने सेवा सुविधा नलिने भएका छन् ।
नगरप्रमुख आचार्यले शुक्रबार पद्भार ग्रहण गर्दै आफूलाई सेवा सुविधा बापत राज्यले दिने रकम अभिभावकविहीन बालबालिकाको पठनपाठनमा खर्च गर्ने निर्णय गरेका हुन् । अभिभावक नभएकै कारण र आर्थिक अभावले गर्दा नगरभित्रका जोकोही बालबालिका पढाईबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सेवा सुविधाको रकम टुहुरा बालबालिकाको पठनपाठनमा खर्च गर्ने निर्णय गरेको नगरप्रमुख आचार्यले उज्यालो अभियानसँग बताए ।
यस्तै, उनले नगरभित्र सामाजिक सुरक्षा भत्ता लिँदै आएका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय समेत गरेका छन् । मापदण्ड बनाएर ज्येष्ठ नागरिकहरुलाई तत्कालै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरिने नगरप्रमुख आचार्यले बताए ।
यसैगरी, नगरप्रमुख आचार्यले ईश्वरपुर नगरपालिका–६, मा निर्माण भएको १५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । भवन निर्माण भएर अलपत्र अवस्थामा रहेको अस्पताल भवनको शुक्रबार नै नगरप्रमुख आचार्यले उद्घाटन गरेका छन् ।