logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लालबन्दीका मेयरको पहिलो निर्णय : स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई ५ हजार खर्च दिईने


  • उज्यालो अभियान

लालबन्दी नगरपालिकाका नवनिर्वाचित मेयर बासुदेव अधिकारी ।

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बासुदेव अधिकारीले सोमबार पदभार ग्रहण गर्दै विभिन्न ४ वटा निर्णय गरेका छन् ।

लालबन्दी नगरपालिका–८, स्थित नयाँ नगरपालिका भवनमा पुगेर पदभार ग्रहण गर्दै नगरप्रमुख अधिकारीले स्वास्थ्य र शिक्षासँग सम्वन्धित ४ वटा महत्वपूर्ण निर्णय गरेका हुन् । अधिकारीले नगरभित्रका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा सुत्केरी हुने महिलालाई संघीय सरकारले दिने बाहेक ५ हजार खर्च दिने व्यवस्था मिलाउने पहिलो निर्णय गरेका हुन् ।

सो खर्च पाउने सुत्केरी नगरभित्रकै हुनुपर्ने छ । नेपाल सरकारले अहिले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई यातायात खर्चबापत १ हजार दिँदै आएको छ ।

अब लालबन्दी नगरभित्रका महिलाले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए नगरले दिने ५ हजार र संघीय सरकारले दिने १ हजारसहित ६ हजार पाउने छन् । लालबन्दीमा प्राथमिक स्वास्थ्य केन्द्रसहित परवानीपुर र पत्थरकोटमा रहेका स्वास्थ्य चौकीलाई प्रसुति गराउने इजाजत प्राप्त छ ।

यस्तै, नवनिर्वाचित नगरप्रमुख अधिकारीले लालबन्दीस्थित प्राथमिक स्वास्थ्य डुमडुमेमा २४ सै घण्टा सेवा संचालन गरी आकस्मिक सेवा प्रवाह गर्न आवश्यक पूर्वाधारसहित एम.डी. डाक्टरको व्यवस्था गर्न पहल गर्ने अर्को निर्णय गरेका छन् ।

यसैगरी, उनले नगरभित्रका अत्यन्त न्यून आयस्रोत भएका परिवारको लगत संकलन गरी ती परिवारका बालबालिकालाई माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निशुल्क गर्ने र प्रत्येक सामुदायिक तथा संस्थागत विद्यालयहरुको नियमित अनुगमन सुपरीवेक्षणको व्यवस्था तत्काल सुरु गर्ने निर्णय पनि गरेका छन् ।

त्यसैगरी, नगरप्रमुख अधिकारीले शिक्षालाई प्रोत्साहन गर्नका लागि लालबन्दी नगरपालिकाभित्रका १७ वटै वडामा गरिव तथा विपन्नबाट २ जना र जेहेन्दारबाट २ जना विद्यार्थी (२ छात्र–२ छात्रा) लाई माध्यमिक तहसम्मको छात्रावृत्तिको प्रवन्ध गर्ने र नगरको एक मात्रै स्नातककोत्तर अध्ययन अध्यापन हुने जनज्योति बहुमुखी क्याम्पसमा उच्च शिक्षाका लागि प्रत्येक वडाबाट विपन्न २ र जेहेन्दार २ जना विद्यार्थी (२ छात्र–२ छात्रा) लाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउने निर्णय समेत गरेका छन् । नगरप्रमुख अधिकारीले सदरमुकाम मलंगवामा जिल्ला न्यायाधीशबाट सपथ ग्रहण गरेर आएपश्चात नगरपालिका भवनमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

लालबन्दीकी नवनिर्वाचित नगरउप्रमुख कल्पनामाया पाख्रिनले पनि सोमबार नै पदभार ग्रहण गरेका छन् । नगरप्रमुख अधिकारीले पदभार ग्रहण गरे पश्चात पुरानो नगरपालिका कार्यालयको सभा हलमा उपप्रमुख पाख्रिन, १७ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई समेत सपथग्रहण गराएका छन् ।