logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीमा एमालेका कार्यकर्ताद्वारा पूर्व–पश्चिम राजमार्गमा चक्काजाम


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन् ।

लालबन्दी नगरपालिका–८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भएपनि मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएको छ ।

९ वटा मत गायब भएपछि एमालेका कार्यकर्ताहरु राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काजाममा उत्रिएका हुन् । एमाले कार्यकर्ताले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् ।

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराती नै लालबन्दी ८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको जनाएको छ । पाख्रिन ४६० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले ४४४ मत ल्याएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ ।

लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा ९ मत कम देखिएको स्वीकार गरेका छन् । उनले यसबारेमा निर्वाचन आयोगमा लेखेर पठाउने तयारी गरिरहेको बताए ।

९ मत कम भेटिँदा समेत निर्वाचन अधिकृतको कार्यालयले गएराती मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक गरिसकेको छ । सो वडामा वडाध्यक्षमा माओवादीले १६ मतले जित निकालेको भएपनि चारै जना वडा सदस्यहरु भने एमालेबाट चयन भएका छन् ।