बयलवास – प्रहरीको गस्ती भ्यानले ठक्कर दिएर एक व्यापारीको मृत्यु भएको विरोधमा आन्दोलनरत ईश्वरपुर बयलवासका व्यापारीहरुले आज(मंगलबार) पनि बजार तथा पसलहरु बन्द गरेका छन् ।
घटनाको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कानूनी कार्बाही एवं राज्यद्वारा दिईने क्षतिपूर्ति बाहेक मृतकका सन्तानलाई लालनपालन एवं पठनपाठनका लागि थप १५ लाख रुपैंया राहत उपलब्ध गराउनु पर्ने भन्दै हिजो(सोमबार) दिनभर व्यापारीहरुले बयलवास बजारमा प्रदर्शन गरेका थिए । पीडित पक्ष र प्रहरी अधिकारीहरुबीच हिजो(सोमबार) दिउँसो भएको वार्ता विना निश्कर्ष टुंगिएको छ ।
यी समाचार पनि पढ्नोस्
ईश्वरपुर घटना : सीडीओले डाके सर्वपक्षिय बैठक
बयलवास घटना : एसएसपीको कमाण्डमा थप प्रहरी परिचालन
ईश्वरपुरमा प्रहरीकाे जीपमा आगाे लगाईयाे : प्रहरीद्वारा अश्रुग्याँस प्रहार
प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछि ईश्वरपुर बजार तनावग्रस्त
पीडित परिवारको माग पूरा नभएसम्म बजार तथा पसल बन्द जारी रहने उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साहले उज्यालो अभियानलाई जानकारी दिए । ‘हिजो वार्ता मिलेन, आज सीडीओ साहेब र एसपी साहेबहरु समेत वार्तामा आउने कुरा छ’, अध्यक्ष साहले उज्यालो अभियानसँग मंगलबार बिहान भने, ‘वार्ता नमिलेसम्म पीडित परिवारको आग्रहमा बजार तथा पसलहरु खोल्ने छैनौं ।’
पीडित परिवार एवं बयलवासका व्यापारीहरुको मागबारे छलफल गर्न सोमबार राती सर्लाही आईपुगेका नयाँ प्रमुख जिल्ला अधिकारी(सीडीओे) स्थानेश्वर गौतमले अहिले बिहान सर्वपक्षिय बैठक डाकेका छन् । यो समाचार तयार पार्दासम्म सर्वपक्षिय बैठक चलिरहेको छ ।
आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । घटना प्रहरीले लुकाउन खोजेको र शंकाष्पद देखिएको भन्दै ईश्वरपुरका व्यापारीले सोमबार दिनभर बयलबास बजारमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । आक्रोशित समूहले ईलाका प्रहरी कार्यालय केशरगंजमा ढुंगामुढा गर्नुका साथै ईलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आगो समेत लगाईदिएका छन् । प्रहरीले पनि भिड तितरवितर पार्न सोमबार साँझ अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रहरीले भने रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आफै आएर ठोक्किएको दाबी गरेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका महतोलाई उपचारका लागि तत्काल सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पुर्याईएपनि उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मृतकसँग पहिचान खुल्ने कुनै कागजात नभएको र मोबाईल समेत स्क्रिन लक भएकाले रातभर आफन्तलाई खबर गर्न नसकिएको दाबी गरेको छ ।
मृतक महतोको शव पोष्टमार्टम पश्चात जिल्ला अस्पताल मलंगवामै राखिएको छ । माग पूरा नभएसम्म शव नबुझ्ने पीडित परिवारले बताएका छन् ।