logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

प्रहरीको फितलो अनुसन्धानले अन्यायमा परेको गुनासो


  • उज्यालो अभियान

लालबन्दी – प्रहरीले फितलो अनुसन्धान गर्दा एक वर्षदेखि कानुनी झमेलामा परेको सर्लाही नवलपुरका एक परिवारले गुनासो गरेका छन् ।

दुर्घटनामा संलग्न नभएपनि मुद्दा लगाएर लालबन्दी प्रहरीले फसाएको पीडितको आरोप छ । लालबन्दी नगरपालिका–२ जुटपानीका थिरबहादुर खड्काले सुक्रवार लालबन्दी नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन गरी आफ्नो ट्याक्टर दुर्घटनामा संलग्न नरहेको आधार प्रमाण पेस गरिरह“दा पनि प्रहरीले अनुसन्धान नै नगरी एकतर्फी रुपमा फसाएको गुनासो गरेका हुन् ।

दुर्घटना गराएको मुख्य ट्याक्टर अर्कै रहेको खुलेपनि इलाका प्रहरी कार्यालय लालबन्दीले कुनै सुनुवाई नै नगरेको खड्काको दुःखेसो छ । ती सवै आधार प्रमाणसहित इलाका प्रहरी कार्यालय लालबन्दीमा धाउँदा, मुद्दा अदालतमा गइसकेको भन्दै सुन्नै नचाहेको उनले पत्रकार सम्मेलनमा बताए ।

गतबर्ष कात्तिक–१० गते नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत लालबन्दी नगरपालिका–२ जुटपानीमा चार जना सवार प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किन गई दुर्घटना भएको थियो । त्यस लगतै ट्याक्टर फरार भएको थियो ।

दुर्घटनामा स्थानीय १८ बर्षका अंकुस पासवानको मृत्यु भएको थियो भने १८ बर्षीय निसान्त, २९ बर्षीय अंगद र बर्ष २८ को रितिक पासवान गरी तीन जना घाइते भएका थिए । तत्कालै ईलाका प्रहरी कार्यालय लालबन्दीले फरार ट्याक्टरको खोजी कार्य सुरु गरेपनि फेला नपरेपछि, दुईदिन पछाडि स्थानीयले पराल लोड गर्दै गरेको अवस्थामा खड्काको प्रदेश–२–०३––००१ त १२८२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए ।

ट्याक्टरका चालक नथुनीया भनिने फेकन रामले पनि आफूले नै दुर्घटना गराएको प्रहरी समक्ष स्विकार गरे, तथापी चालकले नै दुर्घटना गराएको स्विकार गरेपछि प्रहरीले पनि चालककै बयानको आधारमा सवारी ज्यान तथा अंगभंग मुद्दा दर्ता गरेको हो । दुर्घटनामा चालकको बयान बाझिरहँदा प्रहरीससँग यही ट्याक्टरले नै दुर्घटना गराएको भनेर अरु थप प्रमाण नरहेको पीडितको भनाई छ ।

प्रहरीको गलत अनुसन्धानले निर्दोस सजायको भागी भए भने दोषी खुलेआम घुमिरहेको खड्काले गुनासो गरेका छन् । यस दुर्घटनाका मृतक तथा घाइतेले क्षतिपूर्ति पाउन सकेका छैनन् भने घटनामा संलग्न नै नभएको भनिएको ट्याक्टर एक वर्षदेखि ईलाका प्रहरी कार्यालय लालबन्दीको परिसरमा रहेको छ ।

प्रहरीले भने चालकले दुर्घटना आफूले नै गराएको हो भन्दै बारम्बार बयान दिएकाले त्यसैको आधारमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।