सीडीओ महतोलाई मायाको चिनो दिएर बिदाई गर्दै सहायक सीडीओ भूमिश्वर पोखरेल ।
मलंगवा – सर्लाहीका दुई जना एसपीपछि प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ ।
गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई मन्त्रालय तानेर उनको ठाउँमा हाल मन्त्रालयमै कार्यरत सहसचिव बाबुराम खतिवडालाई खटाएको हो । प्रमुख जिल्ला अधिकारी महतोको तीन महिनामा नै गृह मन्त्रालयमा काज सरुवा भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
महतोले गएको असार २१ गतेदेखि सर्लाहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । काज सरुवा हुनासाथ उनी सोमवार बिहानै सर्लाहीबाट बिदा भएर गइसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नयाँ सीडीओ खतिवडा पनि आज भोलीमै सर्लाही आएर कार्यभार सम्हाल्ने बुझिएको छ । सीडीओ महतो र दुई जना एसपीको एकैसाथ काज सरुवा भएको हो ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको पुलिस एकेडेमी महाराजगन्ज, काठमाण्डौं र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठको सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोक, काठमाण्डौंमा सरुवा भएको छ । एसपी राठौरको ठाउँमा २ नं. प्रदेश प्रहरी कार्यालयबाट एसपी कृष्ण प्रसाई र सशस्त्रका एसपी श्रेष्ठको ठाउँमा प्रदेश ३ गढिमाई बाहिनी चितवनमा कार्यरत एसपी भरत खनियाँलाई सर्लाही पठाइएको छ ।
नेपाल प्रहरीका एसपी प्रसाईले सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आएर कार्यभार सम्हालेका छन् भने सशस्त्रका एसपी खनियाँले अस्ती आइतवार नै कविलासीस्थित नं. १० गणमा आएर नेतृत्व सम्हालिसकेका छन् ।