परवानिपुर – सर्लाहीको परवानिपुरदेखि रानिगन्ज र लालबन्दीसम्म संचालन हुने अटोले मनपरी भाडा लिन थालेको स्थानीयवासीले गुनासो गरेका छन् ।
अटो चालकहरुले आफूखुसी मनपरी भाडा लिन थालेको भन्दै स्थानीयवासीले वडा कार्यालयमा उजुरी नै दिएका छन् । यसअघि रानिगन्जदेखि परवानिपुरसम्मको ६० रुपियाँ र लालबन्दीदेखि परवानिपुरसम्मको ८० रुपियाँ भाडा लिने गरिएको थियो ।
दशैँदेखि भने रानिगन्जदेखि परवानिपुरसम्मको ८० रुपियाँ र लालबन्दी बजारदेखि परवानिपुरसम्मको सय रुपियाँ भन्दा बढी भाडा लिन थालिएको परवानिपुरका स्थानीयहरुको गुनासो छ । उनीहरुको गुनासो र उजुरीपछि परवानिपुरका जनप्रतिनिधिहरुले अटोको उचित भाडादर निर्धारण गर्न पहल थालेका छन् ।
त्यसका लागि हिजो बिहान लालबन्दी नगरपालिका १५ र १६ परवानिपुरको संयुक्त वडा कार्यालयमा सरोकारवालाहरुबीच छलफल समेत गरिएको छ । वडा नं. १५ का वडाध्यक्ष गोरख बहादुर बल र वडा नं. १६ का वडाध्यक्ष गणेश थापाको समेत उपस्थितिमा भएको छलफलबाट कुनै निष्कर्ष भने निस्कन सकेन् ।
लालबन्दी १५ का वडाध्यक्ष बलले भाडा तय गर्ने सम्वन्धमा आज भोलीमा पुनः छलफलमा बस्ने निर्णय भएको जानकारी दिनुभयो । अटो चालकहरुले भाडामा ज्यादती गरेकोबारे आफूहरु समक्ष व्यापक जनगुनासो आइरहेको वडाध्यक्ष बलले बताए ।