logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चार जना सवार ट्याक्टर बाढीले बगायो, सबैको सकुशल उद्धार


  • उज्यालो अभियान

फाइल तस्बिर ।

पत्थरकोट – सर्लाहीको पत्थरकोटमा मंगलवार दिउँसो बाहुनी खोलामा आएको बाढीले एउटा ट्याक्टर बगाएको छ ।

लालबन्दीबाट पत्थरकोटतर्फ जाँदै गरेको पत्थरकोटकै रामबहादुर श्रेष्ठको ट्याक्टर बाहुनी खोलामा आएको बाढीले बगाएको हो । ट्याक्टरको पूरै भाग खोलामा डुबेका कारण मंगलवार साँझसम्म नम्वर खुल्न सकेको छैन् । ट्याक्टरलाई अहिले खोलाबाट निकाल्ने प्रयास भइरहेको छ ।

ट्याक्टरसँगै बगेका चालकसहित चार जनाको स्थानीय वासिन्दाले तत्कालै उद्धार गरेका छन् । डोरीको सहायतामा चालकसहित चारै जनाको सकुशल उद्धार गर्न सफल भएको स्थानीयवासी तिर्थमान स्याङतानले जानकारी दिए ।

तत्कालै गाउँले जुटेर चारै जनाको उद्धार गरेकाले मानवीय क्षति हुन नपाएको स्याङतानले बताए । बाहुनी खोलामा पुल नरहेकाले खोला बाढीमा हेलिएरै वारपार गर्नुपर्ने बाध्यता छ ।

बाढीका कारण लालबन्दी नगरपालिका वडा नंं. १४ नारायणखोलाबाट लालबन्दी बजारमा किनमेल तथा औषधोपचार गर्न आएकाहरु बाहुनी गाउँमै रोकिएका छन् । नारायणखोलाको सत्रकठ्ठाका गङ्गा मगरले बिहान सामान्य वर्षा हुँदा लालबन्दीसम्म आएको भएपनि मध्यान्हपछि ठूलो वर्षा भएपछि बाहुनी र लखन्देही दुवै खोलामा बाढी आएकाले घर फर्किन समस्या परेको बताए ।

सडक नपुगेको नारायणखोलामा पानी पर्न रोकिएपछि दशैँअघिबाट मात्रै लखन्देखी खोलाको बगरबाट बसहरु चल्न थालेका थिए । निरन्तरको वर्षापछि खोलामा बाढी आएपछि त्यसक्षेत्रमा पुनः यातायात अवरुद्ध भएको छ ।