फाइल तस्बीर ।
गौरीशंकर – जंगली हात्तीले आइतवार राती फेरि सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, गौरीशंकर हरकठवामा किसानको पाक्नै लागेको धान खाएर सखाप पारेको छ ।
तीनवटा जंगली हात्तीको समूहले स्थानीय रण कुमार सुनुवार र पृथ्बी बहादुर सुनुवारको दुई÷दुई कठ्ठामा पाकेर झुल्न थालिसकेका धान खाएर नष्ट गरेको हो । दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर मुखैमा आइसकेको बाली धान नष्ट गरिरहेको छ ।
थाल भाँडा ठटाउने र आगो बाल्ने गर्दा पनि हात्तीहरु अटेरी भई धान खाइदिने गरेको स्थानीय किसानहरुले बताएका छन् । यसरी बारम्बार देखापरिरहने हात्तीले त्यहाँका किसानले लगाएको धान बाली नष्ट गरिरहेको छ ।
हात्तीले सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथ लगायत क्षेत्रमा किसानले लगाएको बालीनाली नष्ट गर्दै आइरहेको छ । हात्तीको आतंकले स्थानीयवासी निर्धक्कसँग बस्न सकेका छैनन् । हात्ती आउने डरले कतिपय स्थानीय त रातभर जाग्राम बस्ने गरेका स्थानीय संचारकर्मी ढुण्डीराज पोखरेलले जनाए ।
सर्लाहीमा ४ महिनाअघि आएका तीनवटा हात्ती, आएको ठाउँतिर फर्किएर गएका छैनन् । ती हात्तीले सागरनाथ र बाँके जंगलमा बसेर किसानको अन्नबाली खाइदिने, घरका बेराघेरा भत्काउने जस्ता उभद्रो गर्दै आएका छन् ।