logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कार्यकक्षमै प्रवेश गरी कर्मचारीमाथि दुर्ब्यबहार, गाउँपालिकाको कामकाज बन्द


  • उज्यालो अभियान

बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारीले आफूहरुमाथि कार्यकक्षमै दुर्ब्यबहार भएको आरोप लगाएका छन् ।

कर्मचारीहरुले बिहिवार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी गाउँपालिकाको वडा नं. १ बस्ने रामविश्वास राय, वडा नं. ३ बस्ने चनु राय, उदय रायसहितको समूहले वुधवार नेकपा माओवादी केन्द्रको झण्डा बोकेर नाराबाजीसहित कार्यालयमा प्रवेश गरी दुर्ब्यबहार गरेको आरोप लगाएका हुन् । गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झा, उद्यम विकास सहजकर्ता राश नारायण राय र राकेश कुमार यादव, सूचना प्रविधि अधिकृत सुजित कुमार कर्ण, पन्जिकरण शाखाका प्रमुख राजिव कुमार यादव, फिल्ड सहायक सन्जय कुमार पण्डित लगायतका कर्मचारीमाथि दुर्ब्यबहार भएको हो ।

उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गरे । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उनले पत्रकार सम्मेलनमा बताए ।

गाउँपालिकाका कर्मचारीहरुको बिहिवार बसेको बैठकले शान्तिपूर्वक हिसाबले काम गर्ने वातावरण नहुन्जेलसम्म कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले आफू र प्रमुख प्रशासकीय अधिकृत वुधवार मलंगवामा भएका बेला माओवादीका नेता कार्यकर्ताले उत्पाद मच्चाउने हिसाबले कर्मचारीमाथि हातपातसहित दुर्ब्यबहार गरेका बताए ।
उनले कुनै गल्ती तथा कमीकमजोरी भए आफूसँग आएर भन्नुको साटो तल्लो तहका कर्मचारीलाई हप्कीदप्की र गालीगलौच गरेर तर्साउने काम भएको बताए । आफूले राम्रा काम गरेकाले आगामी चुनावमा पुनः आफू नै अध्यक्ष दोहोरिने डरले विपक्षीले कर्मचारीलाई तर्साएर उपद्रो मच्चाएका गाउँपालिका अध्यक्ष रायले बताए ।

यता, दुव्र्यवहारको आरोप लागेका नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको प्रत्यासी समेत रहेका रामविश्वास रायले भने सबै कर्मचारीलाई एकै ठाउँमा जम्मा पारेर अनियमितताको बारेमा केही कुरा राख्न खोजेको भएपनि नमानेपछि बाहिर निकालेर ढोका लगाइदिएको बताए । तर गाउँपालिकाको सीसीटिभी फूटेजमा राय लगायतका व्यक्तिले कर्मचारीहरुलाई दुर्ब्यबहार किसिमले पाखुरा समातेर बाहिर निकालेको देखिन्छ ।

बिहिवार साँझ उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँगको कुराकानीमा रायले कर्मचारीप्रति आफूहरुको कुनै पूर्वाग्रह नरहेको बताएका छन् । उनले गाउँपालिकामा कामै नगरी थुप्रै अनियमिता भएको र आफ्ना नातागोतालाई कर्मचारीमा नियुक्त गरेको आरोप लगाए ।

दुर्ब्यबहारको आरोप लागेका अर्का व्यक्ति चनु रायले धेरै समयदेखि गाउँपालिकाको हिसाबकिताब मागेको भएपनि नदिएको पत्रकारहरुसँग बताए ।