मलंगवा – सर्लाहीको रानिगन्जमा हत्या पश्चात खाडलमा पुरिएको अवस्थामा फेला परेकी युवतीको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् ।
बुधबार राती जिल्ला अस्पताल मलंगवामा मृतक किशोरीको शव पोष्टमार्टम भएपनि परिवारले बुझेका छैनन् । पोष्टमार्टम भइसकेको शव जिल्ला अस्पतालमै छ । घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कानुन बमोजिमको कारवाही गर्ने भनी आश्वस्त पार्दा समेत परिवारले शव नबुझेका प्रहरी स्रोतले जनाएको छ ।
दुई घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
किशाेरी हत्या आराेपीलाई कार्बाही माग्दै लालबन्दीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
कालिन्जोर खोलामा युवतीको शव फेला
गत साउन ३१ गते राती ११ बजेतिर घरबाटै बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोल बस्ने राजेश भुजलेकी १६ वर्षीया छोरी प्रियंका भुजेलका शव मंगलवार राती कालिन्जोर खोलामा फेला परेको थियो । पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिव २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा उनको शव फेला परेको हो ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बुधबार सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो महोत्तरीबाट पक्राउ परेका युवकहरुले नै खोलामा गाडिएको युवतीको शव देखाएका हुन् । युवतीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको छानबिन र दोषीलाई कारवाहीको माग राख्दै स्थानीयवासीले बुधबार दिउँसो लालबन्दीमा २ घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले भने थप अनुसन्धान र पोष्टमार्टमपछि युवतीको मृत्युको कारण खुल्ने जनाएको छ ।