लालबन्दी – रानिगन्जमा एक युवतीको शंकास्पद मृत्यु भएको घटनालाई लिएर स्थानीयवासीले गरेको पूर्व-पश्चिम राजमार्गको चक्काजाम खुलेको छ ।
युवतीको हत्या भएको दावीसहित दोषीलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानीयहरुले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि चक्काजामसहित प्रदर्शन गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि कानुन बमोजिमको कारवाही गर्ने र अनुसन्धान गर्दै जाँदा थप व्यक्तिहरुको संलग्नता देखिएमा खोजी तीव्र पार्ने सहमतिपछि राजमार्ग खोलिएको हो ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको चक्काजाम साँढे २ बजेतिर खुलेको हो । पीडित परिवार अहिले मृतक युवतीको शव लिन जिल्ला अस्पताल मलङ्गवातर्फ गएका छन् ।
तीन दिनदेखि बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत फेला परेकी थिईन् ।
घटनामा संलग्न रहेको आरोपमा १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाल पक्राउ परेका छन् ।