logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

उत्कृष्ट काम गरेबापत बागमती सेवा समाज सम्मानित


  • उज्यालो अभियान

हरिवन – कोभिड १९ विरुद्ध उल्लेखनीय काम गरे वापत बागमती सेवा समाज नेपाललाई साझेदार संस्था वल्र्डभिजन इन्टरनेसनल नेपालले मंगलवार एक कार्यक्रमका बीच प्रशंसा पत्र प्रदान गरेको छ ।

संस्थाद्वारा सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा संचालित विभिन्न क्रियाकलापहरुको अनुगमन पश्चात आयोजित कार्यक्रममा निर्देशक अनुप रानाले बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीलाई उक्त प्रशंसा पत्र हस्तान्तरण गरेका हुन् । वल्र्डभिजन इन्टरनेसनल नेपालका निर्देशक रानाले उक्त प्रशंसा पत्र हस्तान्तरण गर्दै आगामी दिनमा समेत उत्कृष्ट कार्य गरी लक्षित वर्गलाई सेवा प्रवाह गर्न आग्रह गरे ।

फिल्ड अनुगमनका क्रममा संस्थाले लक्षित वर्गका अति जोखिममा परेका बालबालिका र तिनका परिवारलाई केन्द्रविन्दुमा राखी क्रियाकलाप संचालन गरेको र यसबाट लक्षित वर्गले खुशी व्यक्त गरेको र सरोकारवालासँग समेत नजिकबाट समन्वय गरी क्रियाकलाप संचालन गरेकोमा संस्था प्रति उनले आभार प्रकट गरेका छन् । उक्त अवसरमा वल्र्डभिजन इन्टरनेसनल नेपालका फिल्ड व्यवस्थापक विनय अमात्य, फिल्ड स्पोन्सरशिप संयोजक सीता चौधरी, बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारी लगायतको सहभागिता रहेको थियो ।

संस्थाले वल्र्डभिजन इन्टरनेसनलसँगको साझेदारीमा कोभिड १९ बाट प्रभावित हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका एघार सय बढी परिवारलाई खाद्यान्न लगायतका राहत वितरण, कोभिड १९ सम्बन्धी जनचेतना अभिवृद्धि र बालबालिकाको संरक्षणका लागि बाल क्लव मार्फत विभिन्न क्रियाकलाप संचालन गरेको थियो ।

यस बाहेक दुबै पालिकामा करीब ५ हजार ६ सय जना जोखिम परिवारका बालबालिकालाई शिक्षा, स्वास्थ्य, संरक्षणका लागि बाल स्पोन्सरशिप परियोजना मार्फत सहयोग गरिरहेको संस्थाले जानकारी दिएको छ ।