सर्लाही सदरमुकाम मलंगवा स्थित बसपार्कमा थन्किएका यात्रुबसहरु । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – स्थानीय प्रशासनले सवारी पास नदिँदा आफूहरु मारमा परेको सर्लाहीका बस व्यवसायीले गुनासो गरेका छन् ।
छिमेकी जिल्लाहरुबाट काठमाण्डौंसम्म जाने रात्री बसलाई पास दिइएको भएपनि सर्लाहीमा भने पास उपलब्ध नगराइएको बस व्यवसायीहरुको गुनासो छ । सवारी पासका लागि स्थानीय तहमा दस्तुर बुझाएर सिफारिस बोकेर बारम्बार जिल्ला प्रशासन कार्यालय पुगेपनि लामो दुरीका बसहरुका लागि पास उपलब्ध गराउने अधिकार नरहेको भन्दै फर्काउने गरिएको नवलपुर निवासी बस व्यवसायी दीपक श्रेष्ठले गुनासो गरेका छन् ।
पास माग्न आइतवार पनि जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेको तर पास दिन नमिल्ने भनेर फकाइएको श्रेष्ठले दुःखेसो गरे । उनले पासका लागि सहजीकरण गरिदिन प्रशासनसँग अनुरोध गरेको उज्यालो अभियानकर्मी जनार्जन खत्रीलाई सुनाए ।
उनले धनुषालगायत केही छिमेकी जिल्लाले भने पास उपलब्ध गराएकाले निर्वाध रुपमा रात्री बसहरु काठमाण्डौं गइरहेका दिए । पास नभएपनि विभिन्न ठाउँमा प्रहरीलाई पैसा दिएपछि भने गाडी जान दिने गरिएको श्रेष्ठको दावी छ ।
ठाउँ–ठाउँमा दशौँ हजार पैसा बुझाउँदा आफूहरुले यात्रुसँग लिएको भाडाको सबै पैसा खर्च हुने अवस्था रहेको बस व्यवसायीहरुको गुनासो छ । पैसा बुझाउँदा आउजाउ गर्न दिने तर पैसा नदिँदा कोरोनाको सङ्क्रमण र निषेधाज्ञाको बहाना बनाएर बस गुडाउनै नदिएको व्यवसायीहरुले दुःखेसो पोखेका छन् ।
अन्य सवारी साधनलाई निर्वाध रुपमा संचालन गर्न दिइएको तर आफूहरुलाई प्रक्रिया पु¥याएर पास माग्न जाँदा समेत पास नदिएर अर्कै मुलुकका नागरिकको जस्तो व्यवहार गरिएको बस ब्यवसायीहरुको गुनासो छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले काठमाण्डौं उपत्यकामा बाहिर जिल्लाबाट अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा प्रतिवन्ध रहेकाले यहाँबाट यात्रु ओसारपसार गर्ने प्रयोजनको लागि बसहरुलाई सवारी पास दिन नमिल्ने उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँगको कुराकानीमा बताए ।
सवारी पासका सम्वन्धमा आफूसँग पनि बस व्यवसायीहरुले गुनासो गरिरहेकाले उनले बताए ।