logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दलित जातीमा मधेसी मुलका जातीलाई समावेश गरेकोमा आपत्ति


  • उज्यालो अभियान

मलंगवा – मधेसी मूलका विभिन्न जातिलाई नेपाल सरकारले दलित जातीमा समावेश गरेकोमा सर्लाहीका दलित संघ संगठनले आपत्ति जनाएका छन् ।

उनीहरुले आज जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै निर्णय फिर्ता लिन समेत माग गरेका छन् । मधेसी मूलको पटवा, बिन (मुखिया), मलाह (सहनी), लोहार र गोढया जातीलाई दलित जातीमा समावेश गरिएकोमा आपत्ति जनाइएको हो ।

सो जातिहरु दलित बर्गमा पर्ने भन्दै सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्न स्थानीय तहहरुलाई परिपत्र गरिएकोमा जिल्लाका दलित संघ संगठनहरुले आपत्ति जनाएका छन् । समानुपातिक समावेशिताको वकालत र पैरवी गर्ने राष्ट्रिय दलित आयोग आफै पनि असमावेशी भएको परिणाम स्वरुप उक्त निर्णय हुन पुगेको आरोप लगाइएको छ ।

सम्वन्धित पक्षबाट निर्णय सच्चिने अपेक्षासहित आफूहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।