साबिक नारायणखोला गाविसको केन्द्र मोटरदोभान । (फाईल तस्बिर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको कर्णाली मानिने अति दुर्गम क्षेत्र नारायणखोलाका बिरामीले यातायात सहज नहुँदा समयमै उपचार नपाएको गुनासो गरेका छन् ।
लालबन्दी नगरपालिका–१४ स्थित चुरे क्षेत्र अन्तर्गत अति विकट मानिने नारायणखोलाका बासिन्दाले बाढीले बाटो बगाउँदा यातायात अभाव भएकाले बिरामीको सहज उपचार हुन नसकेको गुनासो गरेका छन् । नारायणखोलाका प्रत्येक बस्तीका वासिन्दा अहिले ज्वरो, टाइफाइडजस्ता स्वास्थ्य समस्याले ग्रसित छन् ।
सडक संजालमा नजोडिएको नारायणखोला क्षेत्रमा खोलाको बाटो बाढी आएर बगाएपछि बिरामीलाई औषधोपचारका लागि अस्पतालसम्म आउन थप समस्या भएको हो । सोमबार यस वर्षकै ठूलो बाढी आएर लखन्देही खोलाको कच्ची बाटो बगाएको नारायणखोलास्थित सत्रकठ्ठा गाउँका युवा गंगा मगरले जानकारी दिए । मगरका अनुसार बाढीले बाटो भताभुंग पारेपछि अब तत्कालै गाडी चल्न सक्ने अवस्था छैन् ।
नारायणखोलामा हिउँदका महिना खोलाको बगरबाट बस, ट्याक्टर र अन्य ढुवानीका सवारी साधन संचालन हुने गरेका छन् । बर्खा लागेपछि भने खोलाको बाटो अवरुद्ध हुने गरेको छ । आफूहरुको गाउँमा अहिले अधिकांशलाई भाइरल ज्वरोको प्रकोप देखिएको नारायणखोलाका वडा सदस्य दीपसागर दोङले बताएका छन् । गाउँले सबै बिरामी परेको समयमा यातायात अवरुद्ध भएपछि असाध्य दुःख खेप्नु परेको दोङको दुःखेसो छ ।
बिरामी परेका नारायणखोलावासी रातविरात घण्टौं हिँडेर लालबन्दी बजारसम्म आएर उपचार गरेर फर्किने गरेका छन् । वडाध्यक्ष सुबाईसिंह ब्लोनले विकट गाउँका अधिकांश वासिन्दा यो पटक बिरामी परेर थलिएका बताए । सबैजसो बिरामीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको वडाध्यक्ष ब्लोनको भनाई छ ।
उनले केही दिनअघि लालबन्दीबाट स्वास्थ्यकर्मी बोलाएर ३२ जनाको स्वाब परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको बताए । साबिक सिंगो गाविस रहेको लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायणखोलामा टाढाटाढा डाँडापाखामा बेलाग्बेग्लै घरहरु रहेकाले सबैतिर स्वास्थ्यकर्मी खटाएर औषधोपचार गर्न पनि सम्भव नरहेको वडाध्यक्ष ब्लोनको भनाई छ ।
नारायणखोलाको केन्द्र मोटरदोभानमा स्वास्थ्य चौकी भएपनि कतिपय बस्तीका वासिन्दालाई हिँडेर स्वास्थ्य चौकीसम्म उपचार गर्न आउँदा एक दिनमा पनि नपुग्ने अवस्था रहेको वडाध्यक्ष ब्लोनले बताएका छन् । कोरोना भाईरस संक्रमण उच्च जोखिमको समयमा सडक अवरुद्ध भएका कारण यातायात सञ्चालन नहुँदा समयमै उपचार गराउन नसक्ने अवस्था आएपछि नारायणखोलाका बासिन्दामा ठूलो त्रास बढेको छ । गाउँमा फोटोकपी, इन्टरनेटजस्ता सुविधा नरहेको भन्दै नारायणखोलाका वडाध्यक्ष र वडा सचिवले लालबन्दी बजारमै बसेर काम गर्दै आएका छन् ।