logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको हरिवन निवासी उप्रेतीले चुमे संसारकै अग्लो स्थान सगरमाथाको चुचुरो


  • उज्यालो अभियान

संसारकै सबैभन्दा अग्लो सगरमाथाको चुचुरोमा रामशरण उप्रेती । तस्बिर सौजन्य : रामशरण उप्रेती)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनी निवासी ३९ वर्षीय रामशरण उप्रेतीले विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण सम्पन्न गरेका छन् ।

आईतबार बिहान साँढे ५ बजे ८ हजार ८४८ दशमलब ८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुग्न सफल भएको उज्यालो अभियानसँग मोबाईलमा कुरा गर्दै उप्रेतीले बताए । हरिवन नगरपालिका–८ निवासी मोदनाथ उप्रेती र ठण्डादेवी उप्रेतीका कान्छा छोरा रामशरण सगरमाथाको आरोहण गर्नका लागि गत वैशाख १ गते काठमाडौंबाट सोलुखुम्बुतर्फ लागेका थिए । ‘काठमाडौंबाट सगरमाथाको आधार शिविर पुग्न ६ दिन लाग्यो, त्यसपछि आधार शिविरबाट पटक–पटक माथि जाँदै फेरि तल फर्कदै गरेँ’, उप्रेतीले भने, ‘वातावरणसँग घुलमिल हुनका लागि माथि उक्लँदै फेरि केही तल झरेर बस्दै गर्दा सगरमाथाको चुचुरोमा पुगेर संसार हेर्न १ महिना १० दिन लाग्यो ।’

विगत २० वर्षदेखि काठमाडौंमा बसेर पदयात्रा लगायत पर्यटन व्यवसायसँग सम्बद्ध उप्रेतीले पर्यटन व्यवसायमा आवद्ध हुने वितिकै सगरमाथा चढेरै छाड्छु भन्ने आफ्नो सपना साकार भएको भन्दै खुशी प्रकट गरे । ‘खासमा म संसारको सबैभन्दा अग्लो ठाउँमा पुग्छु भन्ने उद्धेश्यले सगरमाथा चढेँ, तर चुचुरोमा पुगेपछि संसारको अग्लो ठाउँमा पुगेको भन्दापनि त्यहाँबाट संसार हेर्दा त सोच्दै नसोचेको अनुभुती हुँदो रहेछ, पृथिवी गोलो हुन्छ भनेर पढेको मात्रै थिएँ, तर सगरमाथाको चुचुरोबाट हेर्दामात्र त्यो वास्तविकता अनुभुती हुँदो रहेछ ।’ दक्षिण नेपालतर्फ हेर्दा त हिउँको थुप्रो मात्र देखिने र चीनतर्फ हेर्दा मात्र पृथिवी कस्तो रहेछ भन्ने देखिने भन्दै उप्रेतीले सगरमाथाको चुचुरोबाट देखिएको दृष्य स्मरण गराए ।

सँधै अरुलाई मात्र घुमाउने अनि सगरमाथा लगाएत नेपालका विभिन्न हिमश्रृंखला सहित पर्यटकीय स्थानको बारेमा व्रिफिङ गर्ने उप्रेती आफैले संसारको सबैभन्दा अग्लो सगरमाथाको चुचुरो चुमेका छन् । सम्भवतः सगरमाथाको चुचुरो पुग्नेमा आफू प्रदेश नं. दुईकै पहिलो हुन सक्ने उप्रेतीको दाबी थियो । ‘अब केही दिनपछि पर्यटन बोर्डबाट आधिकारिक तथ्यांक लिने छु’, उप्रेतीले भने, ‘सम्भवतः म नै प्रदेश दुईको पहिलो हुन्छु होला ।’ संसारको सबैभन्दा अग्लो स्थान सगरमाथाको चुचुरो चुम्न सफल प्रदेश दुई अन्तर्गत सर्लाही जिल्ला हरिवन नगरपालिका निवासी उप्रेतीलाई यस उज्यालो अभियान मिडिया नेटवर्क प्रालिको तर्फबाट पनि हार्दिक बधाई सहित उत्तरोतर प्रगतिको कामना गर्दछ ।