गाेडैता – सर्लाहीमा एक युवती माथि सामुहिक बलात्कारको प्रयास भएको आराेप लागेकाे छ ।
जिल्लाको दक्षिणी क्षेत्र गोडैता नगरपालिका-१२ मधुवनीमा गत जेठ ३ गते खेतबाट काम गरेर घर फर्किरहेकी स्थानीय २२ वर्षीया युवती माथि ३ जनाद्वारा सामुहिक बलात्कारको प्रयास भएको आराेप लागेकाे हाे । पीडित युवतीका अनुसार गाउँदेखि पूर्वि-दक्षिण भारतको सिमा छेउमा रहेको खेतमा काम गरेर साँझ ७ बजेको समयमा घरतर्फ फर्किरहेको अवस्थामा लुकेर बसेका तिन जनाको समूहमा रहेका युवाहरुको समुहले अभद्र व्यवहार गरेका र जबर्जस्ती आफूलाई घिसार्दै नजिकैको खेतमा लगि करणी गर्ने प्रयास गरेका थिए ।
आफूले सहयोगका लागि कराएपछि खेतमा काम गरेर फर्किदै गरेका गाउँलेहरुले तीनैजना माथि हमला गरेर आफूँलाई छुटाउँदा उनीहरू भागेको पीडित युवतिले बताएकी छिन् । पीडित युवतीले आफूमाथि यौन दुर्व्यवहार गर्ने तीनैजना ब्यक्तिहरुलाई पक्राउ गर्न, कानुनी कारवाही गरेर हदैसम्मको दण्ड सजाय दिलाउन र क्षतिपूर्ति समेत दिलाउन माग गर्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय, मलंगवामा जाहेरी दरखास्त दिएकी छिन् ।
युवतिले कसुरवार दुईजना स्थानीय र एकजना भारतीय नागरिक रहेको पनि बताएकी छिन् । घटनाबारे अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । पछिल्लाे समय सिमावर्ति क्षेत्रमा लकडाउनको बाबजुद भारतबाट दिनहुँजसो भारतीय नागरिकहरु नेपालतर्फको गाउँमा आएर मदिरा सेवन गरी होहल्ला गर्ने, मारपिट गर्ने, अभद्र व्यवहार गर्ने गर्दा आफ्ना छोरीचेली असुरक्षित भएको सिमाक्षेत्रका स्थानीयबासीले गुनासो गरेका छन् ।