लालबन्दी – सर्लाहीको लालबन्दीमा १२ दिनअघि एक जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार भएको ट्रक र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यही बैशाख ५ गते राती सबा १ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–७, डुमडुमेमा पश्चिमतर्फ आइरहेको लु १ ख ८५३८ नम्वरको ट्रकले पूर्वतर्फ हिँडेको प्रदेश–२ ०२००३ प ४९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु र अर्का एक जना गम्भीर घाईते भएका थिए ।
दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१८, का २८ वर्षीय संजित दासको मृत्यु भएको थियो भने सोही ठाउँका २८ वर्षकै सुनिल गिरी घाईते भएका थिए । घाईते गिरीको अहिले पनि जनकपुरधाममा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको अनुसन्धान गर्ने शिलशिलामा लालबन्दी प्रहरीले पूर्व कोशी ब्यारेजदेखि पश्चिम चन्द्रनिगाहपुरसम्म राजमार्ग क्षेत्रमा जडित सीसी क्यामेराले कैद गरेका फूटेजहरु हेरेको थियो । सोही फूटेजहरुका आधारमा ट्रक नम्वर पत्ता लगाएर ट्रक र त्यसका चालकलाई १२ दिनपछि नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापाले बताए ।
मध्यरातमा दुर्घटना गराएर फरार हुने सवारी साधनहरु बिरलै भेटिने गरेका भएपनि आफूहरुले बैशाख ५ को दुर्घटनाका सम्वन्धमा निरन्तर अनुसन्धान गरेर ट्रक र चालकलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक थापाले सुनाए । उनका अनुसार दुर्घटना गराएर फरार ट्रक र चालकलाई सुक्रवार ईलाका प्रहरी कार्यालय लालबन्दी ल्याइएको छ ।
ट्रकका चालक चन्द्रपुर नगरपालिका रौतहटका ५० वर्षीय कृष्णबहादुर लामिछानेविरुद्ध सवारी ज्यान मुद्वामा कारवाही समेत सुरु गरिसकिएको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् । यसअघि पनि केही साता पहिले पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीकै बागमतीमा पैदल यात्रीलाई ठक्कर दिएर भागेको सवारी र त्यसका चालकलाई लालबन्दी प्रहरीको समेत उपस्थितिमा चन्द्रनिगाहपुरको चुरेक्षेत्रबाट पक्राउ गरिएको थियो ।
यस्तै, लालबन्दी प्रहरीले यस्ता किसिमका दुर्घटना र अन्य आपराधिक घटनाका दोषीहरुलाई पक्राउ गर्न सहज हुने गरी केही दिन अघिबाट लालबन्दीस्थित निकै ब्यस्त रहने मरिण चौकमा नाईट भिजन सीसी क्यामेरा जडान गरेको छ ।