हरिवन – मेरुदण्ड भाँचिएर थला परेका सर्लाहीको हरिवन नगरपालिका–१, केराबारीका मदन कुमार बजगाईलाई मंगलवार आर्थिक सहयोग गरिएको छ ।
हरिवन घर भई हाल अमेरिका बस्ने एक मनकारी युवकले पठाएका रकम चार वर्षअघि दुर्घटनामा परेर मेरुदण्ड भाँचिएर थला परेका बजगाईलाई घरमै पुगेर प्रदान गरिएको हो । बजगाईको घरमै पुगेर १० हजार बराबरको खाद्यान्न र उहाँको छोरीछोरीलाई पढ्नका लागि शैक्षिक सामग्री प्रदान गरिएको सामाजिक काममा सक्रिय हरिवनका युवा युवराज भण्डारीले उज्यालो अभियानलाई जानकारी दिए ।
हरिवनका समाजसेवी भरत कुमार कार्कीले समेत घाईते बजगाई परिवारको दयनीय अवस्था देखेर व्यक्तिगत तर्फबाट २ हजार रुपैयाँ सहयोग गरेका छन् ।
समाजसेवी कार्की, सामाजिक काममा सक्रिय युवा भण्डारी, एमाले नेता चूडामणि वाग्ले, वडा सदस्य रामबाबु राई, खेलकुद महासंघका जिल्ला अध्यक्ष बिजय अधिकारी, सचिव भीम मगर, तारा लामा, दिनेश राई, सुरज घिमिरे, शान्ति राई, सीता दाहाल, उद्धव राई लगायतले थला पर्नुभएका बजगाईको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान चलाउने प्रतिवद्धता जनाए ।