फाइल तस्बीर ।
लालबन्दी – जंगली हात्तीको समूहले गएराती (आइतवार राती ) सर्लाहीको लालबन्दी नगरपालिका–११, बाहुनी भन्ने स्थानमा तीनवटा घरमा सामान्य क्षति पु¥याएको छ ।
अस्ती शनिवार राती लालबन्दी नगरपालिकाको वडा नं. १६ परवानीपुर क्षेत्रमा एक्कासी देखा परेका जंगली हात्तीको समूह गतराती बाहुनी क्षेत्रमा देखा परेका हुन् । राती अचानक हात्ती आएर घरमा क्षति पु¥याउन थालेपछि स्थानीयमा भागाभाग मच्चिएको थियो ।
स्थानीयले खबर गरेपछि प्रहरी र वनका कर्मचारी राती नै घटनास्थलमा पुगेर हात्ती धपाउन सहयोग गरेका थिए । हात्तीले यसअघि परवानीपुर क्षेत्रमा पनि केही घर, केरा बगैंचा र फुटबल चौरमा गाडिएको पोलमा क्षति पु¥याएको थियो ।
डिभिजन वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत राकेश रन्जन दासले हात्तीको समूह हरेक वर्ष यसरी आफ्नो पुरानो बाटो हुँदै हिँड्ने गरेको बताए । विभिन्न ठाउँबाट आएका जङ्गली हात्तीले लालबन्दी र ईश्वरपुर नगरपालिकाको जङ्गल छेउछाउका बस्तीमा हरेक वर्ष जनधनको क्षति गर्दै आएको छ ।