logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बरहथवामा हुकिङ लगाएर चलाइएको तीन थान मोटर बरामद


  • उज्यालो अभियान

बरहथवामा हुकिङ लगाएर चलाइएको मोटर बरामद गरिँदै ।

बरहथवा – सर्लाहीको बरहथवामा रहेको नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रले आइतवार हुकिङ लगाएर चलाइएको तीनवटा मोटर बरामद गरेको छ ।

बरहथवाको वनटोल क्षेत्रबाट आइतवार दिउँसो बिजुली चोरेर चलाइएको तीन थान पानी तान्ने मोटर बरामद भएको हो । बरामद भएको मोटर जरिवाना तिराएर मात्रै छाडिने प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले जानकारी दिए ।

प्राधिकरणले अत्यधिक विद्युत चुहावट हुने क्षेत्रमा बेला–बेलामा यसरी कर्मचारी खटाएर हुकिङ हटाउने र विद्युतीय उपकरण बरामद गर्दै आएको छ ।

केही महिनाअघि बरहथवा वितरण केन्द्रका कर्मचारी धनकौल गाउँपालिकाको महिनाथपुर क्षेत्रमा हुकिङ हटाउँदा जाँदा स्थानीय गाउँहरु उल्टै प्रतिकारमा उत्रिएका थिए । पछि स्थानीय जनप्रतिनिधि आएर पुनः त्यस्तो घटना दोहोरिन नदिने प्रतिवद्धता जनाएपछि प्राधिकरणले त्यस क्षेत्रमा बत्ती छाडेको छ ।

सदरमुकाम मलंगवामा रहेको प्राधिकरणको वितरण केन्द्रले पनि केही साताअघि निरन्तर हुकिङ नियन्त्रण अभियान चलाएको थियो । विशेष गरी जिल्लाको दक्षिणी भेगमा पूरै गाउँ बस्तीले नै हुकिङ लगाएर अर्थात मिटर नै नराखी बत्ती बाल्ने र अरु विद्यतीय उपकरण चलाउँदै आएका छन् ।