logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

दुईजना सडक मानवको उद्धार


  • उज्यालो अभियान

नयाँरोड स्थित सञ्चालनमा ल्याईएको आश्रम भवन । (तस्बिर : उज्यालो अभियान)

हरिवन – मानव सेवा आश्रम हरिवनले सहारा गुमाएर सडकमा पुगेका दुईजना सडक मानवलाई आईतबार उद्धार गरेको छ ।

हरिवन नगरपालिकाको चापिनी पुल नजिक स्याउली बजारबाट एकजना महिला र लालबन्दी–९, मा रहेको जनज्योति बहुमुखी क्यापस अगाडिबाट एकजना गरी दुईजना सडक मानवलाई उद्धार गरिएको हो । उद्धार गरिएका दुवैजना साहारा गुमाएर सडकमा रहेको भन्ने स्थानीयको खबर पाएपछि उनिहरुको उद्धार गरिएको आश्रमले जनाएको छ ।

उद्धार गरिएका दुवैजनालाई हरिवनस्थित नयाँरोडमा रहेको मानव सेवा आश्रममा लगेर राखिएको लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपाल प्रसाद घिमिरे जानकारी दिए । मानव सेवा आश्रमले विभिन्न जिल्लाहरुबाट अशक्त, बेसहारा, अभिभावक विहिन, मानसिक समस्याका विरामी एवं सडकमा मागेर हिँडने ‘सडक मानव’ लाई उद्धार गरिरहेको छ ।

संस्थाले हालसम्म ६० जना भन्द बढी व्यक्तिहरुलाई उद्धार गरीसकेको र ति मध्ये केहीलाई सकुशल परिवारको जिम्मा लगाईएको आश्रमले जनाएको छ । उद्धार गरिएका कतिपय व्यक्ति भने आफ्नो मानसिक रोग र मादक पदार्थ सेवन गर्ने बानिका कारण आश्रम छाडेर जाने गरेको र अहिले आश्रममा ६५ जना लाई आश्रय दिएर राखिएको संस्थाकी जिल्ला संयोजक मनिषा केसीले जानकारी दिईन् ।

मासिक ४२ हजार रुपैंया तिर्नेगरी घर भाडामा लिएर सञ्चालनमा रहेको आश्रमलाई सञ्चालनमा निकै समस्या पर्दै आएको छ । तथापी संस्था सञ्चालनका लागि विभिन्न पालिका, संघसंस्था तथा व्यक्तिगत तर्फबाट पनि सहयोग प्राप्त भईरहेको संस्थामा आवद्ध पदाधिकारीले बताएका छन् ।