विद्यार्थीलाई स्वीटर प्रदान गर्दै हरिपुर नगरपालिकाका मेयर मन्सुर । (तस्बिर : उज्यालो अभियान)
हरिपुर – हरिपुर नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानोयुक्त स्वीटर वितरण गरेका छ ।


बाक्लो मात्रामा हुस्सु लागेर चिसो बढेसँगै हरिपुर नगरपालिका कार्यालयले आफ्नो नगर क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । दिनानुदीन बढीरहेको चिसोलाई मध्यनजर गर्दै हरिपुर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ ।


हरिपुर नगरपालिका कार्यालयले प्रारम्भिक बाल विकास कक्षा देखि कक्षा ५ सम्म पढ्ने विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको हो । न्यानो कपडा वितरण अभियान नै तयार गरी नगरभित्र सञ्चालनमा रहेका १५ वटा सामुदायिक विद्यालयका चार हजार ५२८ जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको नगर शिक्षा शाखा प्रमुख नागेश्वर रायले जानकारी दिए । जाडोमा न्यानो स्वीटर र टोपी पाउँदा विद्यार्थीहरु नियमित कक्षामा उपस्थित हुने र बालबालिकालाई चिसोबाट बचाउन समेत सहज हुने भएकाले न्यानो कपडा वितरण गरिएको हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले बताए ।
हरिपुर नगरपालिकाले पुष २७ गतेबाट सुरु गरेको न्यानो कपडा वितरण अभियानको आईतबार समापन गरिएको छ । केही दिनयता चिसो बढेसँगै सर्लाहीको जनजीवन प्रभावित बनिरहेको छ । जाडो छल्न जिल्लाका विपन्न, मजदुर , मुसहर तथा दलित परिवारहरु आगो बालेर ताप्न थालेका छन् । यस अवस्थामा विद्यालय जाने उमेरका बालबालिका झनै प्रभावित भईरहेका छन् ।
