फाईबर सिरक पाएका चन्द्रनगरका विपन्न, एकल महिला, अपांग परिवारका सदस्यहरु । (तस्बिर : सामाजिक संजाल)
चन्द्रनगर – तराई मधेशमा एक हप्ता देखि व्याप्त चिसोका कारण अत्यन्त कष्टकर जीवन जिउन बाध्य सर्लाही चन्द्रनगर गांउँपालिकाका ५०० विपन्न परिवार, एकल महिला र अपांगं परिवारलाई फाइबर सिरक प्रदान गरिएको छ ।
मुसहर, चमार, दुसाध, डोम, मुस्लिम तथा अन्य समुदायका अति विपन्न परिवार र सबै जातिका विपन्न एकल महिला तथा अपांग परिवारलाई सो फाइबर सिरक प्रदान गरिएको हो । दौंतरी संस्थाको सहयोग तथा भोर संस्थाको पहलमा चन्द्रनगर गाउँपालिकामा उक्त मानवीय सहयोग गरिएको दौतरी संस्थाका अध्यक्ष सम्पन्न स्थापीतले बताए । आफुहरुले विगतका वर्षहरुमा र यस वर्ष पनि अत्याधिक चिसोको कारण विपन्न परिवारका कतिपय व्यक्तिहरुले ज्यान गुमाउनु परेका कारणले त्यस्ता परिवारका सदस्यलाई चिसोबाट जोगउन फाइबर सिरक सहयोगको लागि पहल गरेको भोरका अध्यक्ष पँचुलाल माझीले बताए ।
भोरका कोषाध्यक्ष उमेश कुमार साहका अनुसार चन्द्रगर गांउपालिकाका वडा नम्बर १, २, ३ र ४ का ४१० परिवारले फाइबर सिरक पाएका छन् । त्यस्तै वडा नम्बर ७ मा सिरक वितरणलाई शिवनाथ राउतले संयोजन गरेका थिए । ७का ९० परिवारलाई सिरक वितरण गरिएकाे छ । चन्द्रनगर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम नारायण महतोले भोरको पहल र दौंतरीको सहयोगमा माघ १० गते बाट बबरगंजको मुसहर बस्तीबाट फाइबर सिरक वितरणको शुभारम्भ भएको भन्दै खुसी व्यक्त गरे ।
दौंतरीले मानवीय सहयातामा सकृयता देखाएको भन्दै चन्द्रनगर गाउँपालिका वडा नम्बर २ ले प्रसंशा पत्र समेत प्रदान गरेको वडा अध्यक्ष राम नारायण महतोले बताए । फाइबर सिरक चिसो सित लडने सहारा भएको राजकल माझी मुसहरले बताए । मानवीय सहयोग गर्ने दायित्व स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको रहेको बताउँदै आफुहरुले परोपकार तथा मानवीय सहयोगको कार्य गरेको दौंतरी संस्थाकी उत्तरा मानन्धरले बताईन् । आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको अभियानमा केन्द्रित भोर संस्थाले विपद र जोखिममा रहेका परिवार तथा वर्गलाई मानवीय सहायता प्रदान गर्ने आफ्नो जिम्मेवारी अनुरुप नै सहयोगको पहल गरेको भोरका संस्थापक अध्यक्ष राज कुमार महतोले बताए ।