कारको ठक्करबाट मरेको बाघ । (तस्बिर : सामाजिक सञ्जाल)


हरिवन – बाघ मारेको आरोपमा पक्राउ परेका सर्लाहीका एकजना अदालतको आदेश अनुसार धरौटीमा छुटेका छन् ।
सर्लाहीको बलरा नगरपालिका–३ निवासी ५३ वर्षीय अजय मिश्र बारा जिल्ला अदालतको अन्तरिम आदेशपछि विहिबार रिहा भएका हुन् । जिल्ला अदालत बाराले धरौटी राखेर मिश्रलाई तारेखमा छोडेको निकुञ्जले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको सडकमा कारको ठक्करबाट पाटे बाघ मरेपछि हिरासतमा रहेका कार चालक ६ लाख ५० रुपैयाँ धरौटी बुझाएर साधरण तारेखमा रिहा भएका हुन् ।


माघ ५ गते बारा अदालतले मिश्रलाई धरौटी बापतको रकम लिई तारेखमा छाड्न निकुञ्ज प्रशासनलाई आदेश दिएको थियो । निकुञ्ज प्रशासनले बारा जिल्ला अदालतमा उनी विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाएको थियो । घटना भएकै दिन उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको थियो ।
गत पुस १८ गते शनिबार बिहान ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ आउँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जंगल क्षेत्रमा पोथी पाटेबाघलाई ठक्कर दिएको थियो । सडक पार गर्न उफ्रिएको बाघको टाउकोमा कारले ठक्कर दिएपछि बाघको घटनास्थलमै मृत्यु भएको थियो । युनाइनेट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका कार चालक मिश्र आफैंले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
