मलंगवा – विबाह गर्ने भन्दै एक किशोरीलाई अलपत्र पार्ने सर्लाहीको विष्णु गाउँपालिका–७ का युवक बुधबार पक्राउ परेका छन् ।
विष्णु गाउँपालिका–७ दुलवाका १९ बर्षीय शिवा भनिने शिवकुमार यादवलाई अपहरण तथा शरिर बन्धक र जबर्जस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । विहिबार जिल्ला अदालतबाट म्याद लिएर यादव विरुद्ध कानूनी कार्बाही प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्ष (डीएसपी) मदन कुँवरले बताएका छन् ।
विबाह गर्ने भन्दै अलपत्र पारिएको अवस्थामा सर्लाहीको विष्णु गाउँपालिकाबाट उद्धार गरिएकी एक दलित समुदायकी किशोरीले जिल्ला प्रहरी कार्यालय मलंगवामा यादव विरुद्ध अपहरण तथा शरिर बन्धक र जबर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिईन् । पीडित किशोरीले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालयले मंगलबार दर्ता गरेको थियो । पीडित किशोरीलाई हाल सदरमुकाम मलंगवा स्थित महिला शान्ति केन्द्र (सेफ हाउस) मा राखिएको छ ।
यो पनि पढ्नोस्
उद्धार गरिएकी किशोरीद्वारा बलात्कारको जाहेरी, अभियुक्त पक्षबाट प्रलोभन र धम्की
यता पीडक पक्षले आफूहरुलाई मुद्धा फिर्ता लिन दबाब दिएको उल्लेख गर्दै पीडित किशोरीका परिवारले मुद्धा फिर्ता नलिए जेसुकै हुने धम्की दिएको गुनासो गरेका छन् । किशोरीकी आमा तथा दाईले उज्यालो अभियानसँग कुरा गर्दै दुईलाख रुपैंया लिएर मुद्धा फिर्ता लिन र अन्यथा जेसुकै हुने भन्दै केटा पक्षबाट दबाब आएको र समाजका सबै लागेपछि आफूहरुको केही नलाग्ने भन्दै उचित न्यायका लागि आग्रह गरेका छन् । यता प्रहरीले भने पीडित परिवारलाई प्रलोभन वा धम्की दिने जोसुकैलाई कडा कानूनी कार्बाहीको दायरामा ल्याईने चेतावनी दिएको छ ।